जव पानी पर्छ
एक थोपा पनि बाहिर झर्दैन
जति झर्छ सवै भित्र झर्छ
तै पनि कमरेड छाता ओढ्न छोड्दैनन्
एउटा छाता
जहिलै बोकेर हिड्छन कमरेड
भन्छन-
‘छाता त मेरो इज्जत नै हो
छात्ता विना कसरी हिड्नु खै ?’
जव बेस्सरी घाम चर्कन्छ
छाताबाट चुहेको घाम
कमरेडका ज्यान भरि पर्छ
छाता ओढेर
तर ,असिन पसिन बनेर
कमरे कतै जादै हुन्छन
कतैबाट आउँदै हुन्छन
भेट हुँदा भन्छन-
‘यो छाता त मेरो पहिचान नै हो
यस्तो लाग्छ-
छाता नबोकेको दिन
म अर्कै कोही हुँ कि जस्तो लाग्छ !’
मलाई पटक पटक सोध्छन-
‘खै तपाईको छाता ?
छात्ता विना तपाई कसरी वाँच्नु हुन्छ हँ ?’
म मन मनै सोच्छु-
यो घाम-पानी नछेक्ने छाता
तै किन बोक्छन यी कमरेड ?
यो छाता र यी कमरेड
यी कमरेड र यो छाता
दुवै उस्तै उस्तै छन
जसरी
यो छाता ओढी ओढी
कमरेड झरीमा रुझ्छन
घाममा सर्लक्कै डढ्छन
ठीक त्यसै गरी
यी कमरेडको पछि लाग्ने मान्छे
दुखका घाम पानीहरूमा
कहिलै ओतिदैन !
कमरेडको छाता
एउटा भयानक भ्रम हो
जुन छाताले
न घामबाट जोगायो
न पानीबाट ओतायो
न एक अमल इज्जत बढ्यो
बरु छाताजस्तै झल्लरी भयो
तै पनि कमरेड छाता बोकिरहन्छन
तै पनि कमरेड छाता ओढिरहन्छन
छाता बोक्नु र छाता ओढ्नु
कमरेडको असली व्यवसाय भएको छ !
२०७६|०१|२८
सुवर्ण चोक , भक्तपुर
वि.सं.२०७६ वैशाख २८ शनिवार २०:४८ मा प्रकाशित