२ जेठ, काठमाण्डौं । राजधानीमै एक श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।
राजधानीको कालोपूलमा बस्ने जेनी खड्कामाथि उनका श्रीमान् विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् । खड्काको गाला, छाती र हात जलेको छ ।
एसिड प्रहार गर्ने भुजेल पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार विगत १ वर्षदेखि माइतीमा बस्दै आएकी खड्कालाई सल्लाह गर्नु छ भनेर बोलाएर भुजेलले बुधबार एसिड प्रहार गरेका थिए ।
खड्कालाई तत्काल चाबहिल स्थित ओम अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपूर अस्पतालमा लगिएको पनि एसएसपी सुवेदीले बताएका छन् ।
खड्का भुजेलकी दोस्रो श्रीमती हुन् । उनका दुई वर्षका छोरा पनि छन् । भुजेलले खड्कालाई बेलाबेलामा धम्काउने गरेको पनि प्रहरीले जनाएको छ । विहिबारको अन्नपूर्णपोष्ट दैनिकबाट
वि.सं.२०७६ जेठ २ बिहीवार ०७:२५ मा प्रकाशित