३ जेठ, लमही । नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका दुई शाखा अझै दाङ आएका छैनन् । सर्वोच्च अदालतले सांस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय भएकै स्थानबाट सञ्चानलनमा ल्याउन आदेश जारी गरेको नौ महीना बितिसक्दा पनि ती शाखा दाङबाट सञ्चालन हुन सकेको छैन । तर अबको केही समयपछि ती शाखाहरु दाङ ल्याउने तयारी थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताए ।
उनका अनुसार अहिलेको डिन कार्यालयलाई नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा सार्ने र सोही भवनमा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढेको हो । “पदाधिकारीको बैठकले डिन कार्यालयलाई अहिलेको आयुर्वेद शिक्षण अस्पतालमा सार्ने गरी सहमति गरेर प्रक्रिया अघि बढाएको छ”, उनले भने, “अबको १०र१५ दिनमा ती दुई कार्यालय अहिलेको डिन कार्यालयबाट सञ्चालन हुनेछन ।”
डिन कार्यालयबाट ती शाखाहरु सञ्चालन भएसँगै संस्कृत अध्ययन केन्द्रको निर्देशक नियुक्ति हुने र काम अघि बढ्ने विश्वविद्यालयका उपलेखा नियन्त्रक हरिबहादुर जिसीले बताए। अनुसन्धान केन्द्रको निर्देशक भने अहिले काठमाडौँमा बस्दै आएको र दाङमा शाखा सञ्चालन भएपछि दाङमै आउने उनले बताए ।
सर्वोच्च अदालतले गत वर्ष भदौमा केन्द्रीय कार्यालय दाङबाटै सञ्चालन गर्ने आदेश गरेको भए पनि दाङबाट सञ्चालन हुन नसकेको भन्दै दाङमा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनहरुले आपत्ति जनाउँदै आएका छन ।
वि.सं.२०७६ जेठ ३ शुक्रवार १४:४४ मा प्रकाशित




























