
६ जेठ, पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।
बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बनेका ३२ वर्षीय माधव गिरीलाई अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले रु दुई लाख १० हजार आर्थिक सहयोग गरेका हुन् ।
पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीसँग सङ्कलन गरिएको रकम जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले पीडित गिरीको घरमा नै पुगेर हस्तान्तरण गरेका हुन् । उक्त रकम खुर्कोटबाट वैदेशिक रोजगारका लागि अमेरिका पुगेका कुमार केसीको पहलमा सङ्कलन गरिएको थियो ।
केसीको पहलमा करीब ३० जनाले २५ देखि १२० डलरसम्म सहयोग गरी एक हजार ९०० अमेरिकी डलर सङ्कलन गरी पठाएका थिए ।
गिरीले ज्याला मजदूरी गरी पाँच जनाको परिवार पाल्दै आएका थिए । गिरीको उपचारमा मात्रै रु पाँच लाखभन्दा बढी खर्च भएको स्थानीय समाजसेवी शेषराज रेग्मीले बताबताए ।
उपचारपश्चात् ज्यान बचे पनि उहाँको घाँटीभन्दा तलको कुनै पनि शरीरको भाग स्वचलित छैन । चौबीसैँ घण्टा ओछ्यानमा थलिएका गिरीको एक श्रीमती, दुई छोरी र छोरा छन् ।
दुर्घटनापछि श्रीमती पार्वती चौबीसैँ घण्टा श्रीमान्को सेवामा खटिनुपर्ने अवस्था आएपछि छोराछोरीको पढाइ, उपचारमा लागेको ऋण तिर्ने र बिहान–बेलुकाको छाक जुटाउने चिन्ता भएको श्रीमती पार्वती गिरी बताउछीन् ।
करीब चार वर्ष विदेशमा बिताएका गिरी ०७२ माघमा घर फर्किएका थिए । कतार, साउदी र ओमनलगायत थुप्रै देशमा गए पनि अपेक्षित पारिश्रमिक नपाएपछि परिवारसँगै बसेर गाउँमै उद्यम गर्ने अभिलाषाका साथ घर फर्किएका गिरी घर फर्किएको दुई महीनामा नै दुर्घटनामा परेका थिए ।
वि.सं.२०७६ जेठ ६ सोमवार ११:३३ मा प्रकाशित






























