
श्रीमान लोकतन्त्र
म इकोल्लु श्रीनिवास
आन्ध्र प्रदेश
ज्यालादारी मजदूर !
श्रीमान लोकतन्त्र ,
दूर्घटनाको गहिरो चोट छ टाउकामा
र उपचारको विल छ एक लाख अठ्ठाइस हजार
मसँग उठ्ठाइस पैसा पनि छैन
तर,
अझै मसँग छन् मेरा केही अङ्गहरू
जसलाई झिकेर तिमी लैजान सक्छौ
र लगानी असुल उपर गर्न सक्छौ
मर्नुअघि,
तिम्रो नोक्सानीलाई भर्पाई गर्न
म खुसी खुसी तयार छु !
श्रीमान लोकतन्त्र,
ढिला नगर , कैंची चलाऊ
पेट चिर र किड्नी झिक
कैंची चलाऊ यी आँखा पनि झिक
अँ आँखा झिक्नुअघि
मेरी अरुणालाई बोलाइदेऊ
म उसलाई अन्तिम पटक हेर्छु
तिमीलाई घाटा नहोस भनेर
म मेरा अङ्गहरू दान गरिदिन्छु !
श्रीमान लोकतन्त्र ,
म इकोल्लु श्रीनिवास
नाथे एउटा ज्यालादारी मजदूर
तिम्रो व्यवस्थामा
मजस्ता गरीवको के मूल्य
चलाऊ छुरा चलाऊ
र आफ्नो डुवेको लगानी फिर्ता गर !
तर, श्रीमान लोकतन्त्र
मेरा यी आँखाहरू
जसलाई लगाउँने छौ तिमी
तिनीहरूले देखिरहने छन-
तिम्रो असली अनुहार
जुन अनुहार
असंख्य इकोल्लु श्रीनिवासहरूको रगत नै रगतले लत्पतिएको छ ।
प्यारी अरुणा
हेर तिम्रो अभागी लोग्नेलाई हेर
मेरा नानीहरूलाई भनिदेऊ-
तिम्रो बाबाले
अस्पतालको विल तिर्न
हत्या स्विकार गर्यो र मर्यो
अस्पतालका डाक्टरहरूले
हाँसिहाँसि छुरा चलाए !
श्रीमान लोकतन्त्र ,
आयु त तिम्रो पनि लामो छैन
मेरा आँखा र मृगौलाले
कति दिन बचाउला तिमीलाई ?
२०७६|०२|५
सुवर्ण चोक, भक्तपुर
वि.सं.२०७६ जेठ ६ सोमवार १२:२२ मा प्रकाशित




























