
१३ जेठ, काठमाण्डौं । नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण देशैभरीको जनजीवन प्रभावित भएको छ ।
बन्दका क्रममा देशभरीका विभिन्न ठाउँमा शंकास्पद वस्तु भेटिएका छन् । समहका कार्यकताले सुर्खेततमा बस जलाएका छन् ।
त्यस्तै दुई ट्रकमा आगजनी गरेका छन् भने ठाउँ ठाउँमा भेटिएको वम नेपाली सेनाको टोलीले निश्क्रििय पारेको छ ।
मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ ।
मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय गरिसकेको छ । सोमबार बिहान करीब १ बजे मिनिट्रकमा आगजनी भएको बताइएको छ ।
हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेर फरार भएको उनले बताए ।
आगजनीका कारण मानवीय क्षति भने भएको छैन । त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ट्रकमा आगजनी भएको छ ।
नौ खण्डेमा बास बसेर बिहान ४ः१५ बजे नौखण्डेबाट हिँडेको र ना ६ ख ८००७ नम्बरको ट्रक गुडिरहेको अवस्थामा नै आगजनी भएको हो । इलाका प्रहरी कार्यालय पालुङ्ले दिएको जानकारीअनुसार अज्ञात समूहमा आएका तीन जनाको समूहले सो ट्रकमा पेट्रोल छर्किएर आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेर क्षति भएको र चालक प्रहरी नियन्त्रणमा नै रहेको प्रहरीको जानकारी गराएको छ ।
बसमा आगजनी
त्यस्तै पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । बस जलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।
देशैभरीका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ मुसेखोला र बागलुङ बजारको कुडुले चोकमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेका छन् । त्यस्तै, अर्घाखाँचीको सन्धिखर्कको आवासीय मावि, पोखराको पृथ्वी चोक, कपिलवस्तुको वाणगंगामा २ ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् ।
त्यस्तै काठमाण्डौं उपत्यकाका पनि शंकास्पद वस्तु र वम फेला परेको प्रहरीले जनाएको छ । भक्तपुरको च्यामास्थि मालपोत कार्यालय नजिक, मोरङको सुन्दरहरैंचा ७ मा प्रेसर कुकर बम फेला परेको नेपाली सेनाले त्यसलाई निश्क्रिय बनाइसकेको छ । त्यस्तै, रौतहटको चन्द्रनिगाहपुरमा पनि प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।
धादिङको महादेवबेसीम पुलमा भेटिएको विस्फोटक पदार्थ नेपाली सेनाको टोलीले निश्क्रिय बनाइसकेको छ ।
आइतबारको विस्फोटमा ४ को मृत्यु ७ घाइते
सोमबारको बन्दका लागि ठाउँ ठाउँमा बम विस्फोट गराउने तयारी गरेको विप्लव समूहको प्राविधिक त्रुटिका कारण आइतबार ४ जना कार्यकर्ताको ज्यान गएको र ७ जना घाईते भएका थिए । प्रहरीका अनुसार सोमबार विहान ४ ः१५ मा विस्फोट गराउने तयारी गरेको उक्त समूहले टाइम सेटिङमा भएको प्राविधिक त्रुटिका कारण आइतबार यस्तो घटना भएको हो ।
वि.सं.२०७६ जेठ १३ सोमवार ०९:१७ मा प्रकाशित




























