
आज जेठ १३ गते मेरा सहधर्मी र सहकर्मी क. कृष्ण सेन ‘इच्छुक’ अर्थात् एक होनहार बहुआयामिक प्रतिभाका धनी एवम् एक क्रान्तिकारी व्यक्तित्वको क्रूरतापूर्वक हत्या गरिएको दिन ।
राप्तिदेखी वाग्मती क्षेत्रीय ब्यूरोसम्म राजनीतिक, संगठनात्मक, साहित्यिक–सांस्कृतिक र पत्रकारिता आदि क्षेत्रबाट देश, जनता, पार्टी र क्रान्तिको लागि आफूलाई समर्पित गर्ने क्रममा तपाईं हाँसी–हाँसी मर्नुभयो र अजर–अमर बन्नु भयो तर म भने रोई–रोई गुमनाम भई बाँचेको छु । यस अर्थमा सेन जीलगायतका अन्य शहीदहरु र वेपत्ता पारिनुभएका मेरा अर्का सहधर्मी र सहकर्मी कामरेड डन्डपाणी न्यौपाने अर्थात् इमान्दारीता, कर्तब्यपरायणता र क्रान्तिकारीताका एक पर्याय व्यक्तित्वलगायत सबै वेपत्ता योद्धाहरुप्रती स्मरण, श्रद्धार्पण र अभिवादन गर्न चाहन्छु ।
एक न एक दिन हामी सबै मर्ने वा यस संसारबाट गायब हुने हाम्रो अनिवार्य र अपरिहार्य नियती नै हो तर त्यो जनता र देशको लागि लड्दालड्दै दुश्मनले मारेर मर्ने वा वेपत्ता पारेर गायब हुने कुरा धेरै भाग्यशाली र गौरवशाली कुरा हो । किनकी, तपाईँहरुभन्दा बढी क्रान्तिकारी ठानिएका कतिपय बडेबडे नेताहरुको स्वार्थी सोंच, शैली, संस्कार र संस्कृतिका कारण आज पार्टी र क्रान्तिमा अनि देश र जनतामा आइरहेको विचलन र विभाजनको आरोप र पीडाबाट यहाँहरु मुक्त हुन पाउनु भो ।

स्मरणीय छ कि यहाँहरुले रगत–पसिना बगाएर बनाएको, एकताबद्ध गरेको र चलाएको माओवादी पार्टी र आन्दोलन आज चिरैचिरा परेको छ र तपाईंहरुलाई सम्झना र श्रद्धा गर्दा पनि छोइछिटो लाग्ला भनेझै गरि अलग–अलग भान्सोमा संकीर्ण बाहुनहरुले आआफ्ना स्वार्थी खिचडी पकाइरहेका छौं र खिचडी खाँदै गरेका तिनै जुठा मुख र हातहरुले एकले अर्कालाई गाली गर्ने र कुटमार गर्ने खेलसमेत हामी खेल्ने गरिरहेका छौं ।
यसरी आज क्रान्ती र क्रान्तिकारी विचार र व्यक्तित्वको मात्र होइन, देश र जनताको अवस्था र व्यवस्था समेत अत्यन्त भताभुङ्ग र भयावह एवम् दयनीय र दुखमय भएको छ । कमसेकम यो भय र दुखको अनुभूति अनि यो पीडा र छट्पटीको भुक्तमान त यहाँहरुले गर्नु परेन !
हो, यो कुरा बेग्लै हो कि यहाँहरु भौतिकरुपमा बाँचेको भए यो परिस्थितिलाई फेर्न केही खबर्दारी गर्न सक्नु हुन्थ्यो वा यो अवस्थाका विरुद्ध कम्तिमा आगो ओकल्नु हुन्थ्यो होला । तैपनी यो प्रश्न र खतरालाई पनि नजर अन्दाज गर्न सकिन्न कि आज यहाँहरुभन्दा बलिया र ठुला खम्बाहरु हल्लिरहेको, गलिरहेको र ढलिरहेको सन्दर्भमा यिन्कै तप्कनीमुनी यहाँहरुको पनि केकति प्रगति र उन्नती हुन्थ्यो होला र ? जे होस्, अद्यापी यहाँहरुका सपना अधुरा र जपना अपूरा भएपनि र हाम्रा क्रान्तिकारी विचार र भावना, रोदन र क्रन्दन अनि आवाज र आन्दोलनलाई ‘कौन पुछे खेसरीका दाल’ गराए पनि अन्ततः यहाँहरुको विचार र आचार अनि योगदान र बलिदान खेर जाने छैन वा खेर जान दिइने छैन । यसरी नै यहाँहरुका सपना र जपना साकार हुने÷गराइने छ र यहाँहरुप्रति पनि सच्चा सम्झना, अभिवादना र श्रद्धाञ्जली हुनेछ ।
हार्दिक श्रद्धाञ्जली, अमीट सम्झना र आत्मीय सलामी
वि.सं.२०७६ जेठ १३ सोमवार १४:४५ मा प्रकाशित




























