१४ जेठ, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी किनबेच गर्ने ६ जना विरुद्घ विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । सरकारी जगा किर्ते गरी व्यक्तिको नाममा दर्ता गर्नेमा कलंकी मालपोत कार्यलयका अधिकृत शिवप्रसाद रिमाल, नायव सुब्बा हरीप्रसाद आचार्य, नक्कली जग्गा धनी मिनाकुमारी थापा, सुयल हाउजिङका कम्पनीका सञ्चालक रामकुमार सयल थापाविरुद्घ विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
त्यतल नककली जग्गाधनी मिनाकुमारी थापाको वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेल विरुद्घ पनि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौँ, बाडभन्ज्याङ –३ मा रहेको कित्ता नम्बर १०१ क्षेत्रफलको ९२ रोपनी २ आना जग्गा मालपोत कार्यालय कलंकीले व्यक्ति विशेषको स्वामित्वमा रहेको सुयल हाउजिङ कम्पनीका नाममा गैरकानुनी रुपमा श्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराएको पाइएपछि अख्तियारले भष्टाचार मुद्दा दर्ता गराएको हो ।अधिवक्ता बाबुराम रेग्मी र योगेन्द्र पोखरेलले सरकारी जग्गा व्यक्तिको नाममा बनाउनका लागि कानुनी प्रक्रियाको सबै काम गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
राजधानी दैनिक पत्रिकाबाट
वि.सं.२०७६ जेठ १४ मंगलवार ०७:३६ मा प्रकाशित




























