
१६ जेठ, काठमाडौँ । सरकारले वृद्घ भत्तासहित समग्र सामाजिक सुरक्षा भत्ता बढाएको छ । यसका लागि ६४ अर्व ५० करोड रूपैयाँ बजेट छुट्याईएको छ । यायो कुल बजेटको चार दशमलब २१ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षाभत्तामा सरकारले ४६ अर्ब ९१ करोड ३२ लाख रूपैयाँ विनियोजन गरेको थियो ।
ज्येष्ठ नागरिकलाई राज्यबाटै सम्मान र संरक्षण गर्न भन्दै सरकारले वृद्घ भत्ता एक हजार रुपैयाँ बढाइएको हो । अब ७० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकले मासिक तीन हजार रूपैयाँ भत्ता पाउनेछन् । यसवाट करीव १३ लाख ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ हुने अनुमान गरिएको छ । त्यस्तै , अति अशक्त, अपांगता भएका, एकल महिला, लोपोन्मुख आदिबासी जनजातिसमेतलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्तामा मासिक १ हजार रूपैयाँ वृद्घि भएको छ । यसबाट राज्यको संरक्षण आवश्यक पर्ने करिव नौ लाख व्यक्तिहरुको जविनयापनमा सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा तथा मिलन केन्द्र पनि सञ्चालन गरिने भएको छ । सरकारले बालसंरक्षण अनुदान कार्यक्रममा एक अर्ब ६४ करोड रूपैयाँ विनियोजन गरिएको छ । दलित तथा कर्णाली क्षेत्रका बालबालिका र मानव विकास सूचाङ्कमा पछि परेका परिवारका बालबालिकालाई पनि यो कार्यक्रममा समेटिएका छन् ।
बिहीबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ १६ बिहीवार ०७:३३ मा प्रकाशित




























