
१६ जेठ, काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) को शुभारम्भ भएको छ ।
कक्षको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सात प्रदेशका मुख्यमन्त्री एवं मन्त्रीसँग भिडियो संवाद गरी शुरुआत गरेका हुन् । मुख्यमन्त्री एवं मन्त्रीले सम्बन्धित प्रदेशको आफ्नै कक्षबाट भिडियो संवाद गरेको कार्यालयका उपसचिव विष्णुप्रसाद घिमिरेले बताएका छन् ।
प्रधानमन्त्री ओलीले बुधबारको कुराकानीमा गणतन्त्र दिवसको शुभकामना दिनुका साथै बुधबारै सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेटका बारेमा कुराकानी गरेका थिए । कक्षका माध्यमबाट राष्ट्रिय गौरवका विकास आयोजनाको आवश्यकताअनुसार वास्तविक समय अनलाइन अनुगमन प्रणाली शुरु गरिने जनाइएको छ ।
पहिलो चरणमा मेलम्ची, माथिल्लो तामाकोशी, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, सिक्टा, भेरी बबईलगायत सिँचाइ आयोजनाको अनुगमन गरिनेछ । कक्षमा पूर्ण हाइडेफिनेसन गुणस्तरसहितको ७० इञ्चको ‘डिस्प्ले’, ‘स्पीकर ट्रयाकिङ’, ‘अटोफोकस’सहितको उपकरण जडान गरिएको छ ।
प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनसम्बन्धी विभिन्न विषयमा प्रत्यक्ष संवाद गर्ने, विकास निर्माण आयोजनाको प्रगति तथा विपद् व्यवस्थापनसम्बन्धी काममा तत्काल राहत र उद्धार गर्न सकिने प्रणाली स्थापना गरिएको उपसचिव घिमिरेले बताएका छन् ।
वि.सं.२०७६ जेठ १६ बिहीवार ०७:४९ मा प्रकाशित




























