
१६ जेठ, युके । अस्पताल जानका लागि आफैले बोलाएको एम्बुलेन्स घरमा आइनपुग्दै बेलायतमा बुधबार एक नेपालीको मृत्यु भएको छ ।
युकेको नोटिङघमा रहेका सुर्वण कुमार राई बुधबार कामबाट फर्कदै गर्दा असहज भएपछि अस्पताल जानका लागि आफैले फोन गरेर एम्बुलेन्स बोलाएका थिए । तर, एम्बुलेन्स घरमा नआइपुग्दै राईको घरको आँगनमै मृत्यु भएको थियो ।
नेपाली समाज नोटिङघमका आजीवन सदस्य समेत रहेका राईको मृत्युले आफूहरु स्तब्ध भएको गुल्मी समाज युकेका उपाध्यक्ष तारानाथ भण्डारीले संसारन्युजलाई बताएका छन् ।
उनले भने, ‘उहाँ साह्रै असल मान्छे हुनुहन्थ्यो सामाजिक रुपमा पनि मन दिएर लाग्नुहुन्थ्यो, उहाँको यस्तो खबरले नोटिङघमका नेपालीलाई स्तब्ध बनाएको छ ।’
एक पावर हाउसमा सेक्युरेटीका रुपमा कार्यरत राई ५–६ वर्षदेखि नोटिङघममा सपरिवार बसोबास गर्दै आएको पनि भण्डारीले बताए ।
‘ कामबाट फर्किदै गर्दा बाटोमै असहज भएपछि गाडी रोकेर बाहिर निस्कीएर एम्बुलेन्सलाई फोन गरेका राईले एम्बुलेन्स आउँदा ढलिसकेको र प्रहरीले परिवारलाई खबर गरेको परिवारले बताएको भण्डारीले बताए ।
राईको आमा बुबा नेपालमै रहेकोले जुन ५ तारिख उनको शब नेपाल पठाउने तयारी भएको बताइएको छ ।
त्यसैगरी युकेका नेपाली समाजका अगुवा रण बहादुर खाती क्षेत्रीले पनि राईको मृत्युले मर्माहत भएको बताउँदै श्रदान्जलि व्यक्त गरेका छन् ।
वि.सं.२०७६ जेठ १६ बिहीवार १७:१६ मा प्रकाशित




























