back

हाँस्नुको मजा !

वि.सं.२०७६ जेठ १८ शनिवार

528 

shares

एक समय लाग्थ्यो, हाँसो कहिल्यै सकिँदैन । मिल्ने साथी हुनुपर्थ्यो जे देखे पनि र जतिबेला पनि हाँसिन्थ्यो । कसैको बोली, कसैको रूप रङ्ग, कसैको हिँडाई, कसैको चालढाल-जे देखे पनि हाँसो लाग्ने । अरू मान्छेहरू सकिन्जेल हाँस्नको कारण सोध्थे, हाँस्न न छाडेपछि “कुरकुरे बैँस” भनेर अर्कोतिर लाग्थे । त्यो मन, ती साथीहरू, त्यो मच्चिएर आउँने असारे भेल जस्तो हाँसो त एकादेशको कथा पो भए !

रहरहरू साना थिए,  सपनाहरू साना,  उड्ने आकास पनि सानो थियो र उडाउने पखेटाहरू पनि साना । घुम्ने घडीको सुई सानो, त्यो सुईले नाप्ने दूरी सानो, त्यो सानो दूरीमा रम्ने हाम्रो मन सानो थियो र हामी पनि सानो नै थियौँ सायद-तर प्राप्त हुने खुसी कति ठूलो कति, सानोमा बाले शहरबाट ल्याइदिने त्यो प्लास्टिकको रङ्गिन घडी पाउँदाको खुसी जस्तै !

दाइ भएपनि मेरो सबैभन्दा मिल्ने साथी उहाँ, केशव दाइ । केहि बाँकी नै हुँदैनथ्यो हाम्रो बीचमा – न लाज, न सङ्कोच, न डर अथवा न दूरी । भनौं नजिक थियौँ सबैभन्दा । म सबैभन्दा धेरै हाँसेको उहाँ सँगै हो । श्रीमती सँगको भन्दा फरक भएपनि कम नजीकको सम्बन्ध थिएन उहाँसँग एक समय ।

जाजरकोट खलङ्गामा एकजना आफन्तीको घरको पूजा थियो एक पटक । बाहिर बसेर खाँदै थियौँ हामी दुई भाइ । कुरा के थियो मैले अहिले बिर्सिएँ, तर हाम्रो हाँसो भने विचित्रको थियो । लगभग आधा घण्टा हामी हाँसिरह्यौँ र सबै जनाले सोधिरहे हाम्रो हाँस्नको कारण । हामी कारण बताउन सक्दैनथ्यौं न त हाँसो रोक्न नै ।  “कुकुरको पुच्छर बाङ्गो देखे पनि हाँस्ने उमेर”  भनेर केहि न लागेपछि सबैले छोडी दिए,  हामी पनि हाँसिरह्यौँ मस्तले ।

अहिले भेट हुन्छ दाइसँग अक्कल झुक्कल । “तपाइको गाउँतिरको कुरा गर्नुहोस् ” – मेरी श्रीमती झकझकाउँछिन् हरेक पल्ट हामी दुई भाइको भेटमा । हामी प्रयत्न त गर्छौँ ती दिनहरु जस्तै गर्न, हाँस्न या रमाउँन । अहँ, सकिएको छैन त्यसरी हाँस्न पछिका भेटहरुमा ।

परिवार, जागिर, कमाई, व्यस्तता वा अरू कुनै कारणले – खोसियो हाम्रो हाँसो । अथवा बचाउँन सकेनौँ हाम्रो त्यो सम्बन्ध या खुसी । अथवा जानेनौँ ।

 

विदेशीनु पर्यो रहर या बाध्यताले । आमा बुवा, गाउँ, आफन्ती, साथी भाइ र हुर्किएको ठाउँको महत्व कति हुन्छ भन्ने कुरा विदेशियकाहरुलाई सोध्नुपर्छ । म हरेक बिछोड र पीडाको हिसाब जोसुकैलाई पनि राम्ररी बुझाउन सक्छु भन्ने लाग्छ मलाई । अर्थात् सानो सानो कुराको महत्व बुझ्ने भएको छु अहिले म । सानो गाउँ, सानो पाखो, सानो घर र मेरा त्यति बेलाका स- साना रहरहरूको अर्थ राम्ररी बुझेको छु मैले अहिले ।

अझ यो भन्दा रोचक घटना मेरो स्यान्दिदीको घर दाङ्गमा घट्यो । दिदीको नयाँ विवाह भएको थियो, भिनाजु जागिरको सिलसिलामा बाहिरै हुनुहुन्थ्यो । म दिदीको घरमा पहिलो पटक गएको थिएँ ।  एकजना मेरो नातेदारसँग जो त्यो बेला देउखुरीको स्कूलमा पढ्नुहुन्थ्यो,  नाताले सोल्टी । बिहानको खाना खाने बेला थियो हामी बाहिरै बसिराखेका थियौँ, ठ्याक्कै भान्छाघरको ढोका अघि । भित्रबाट दिदीका देवरहरू जो सानो सानो मेरै उमेरका हुनुहुन्थ्यो, बाहिर आउनु भो चुठ्न । धोती, जनै लगाएका  र टुप्पी पालेका सानो उमेरका पण्डित सोल्टीहरु देखेर म चकित भैरहेको थिएँ ।

“ओ हो हो ! पुजारी नै पुजारी”- म सँगै गएको सोल्टीले अचम्म मान्दै मेरो कानमा फुसफुसाउँन भयो । मलाई त्यति भए हाँस्न पुगि हाल्यो । पण्डितको घर, सानोमै व्रतबन्ध गर्ने चलन जून हाम्रोतिर हुँदैनथ्यो यती सानोमै- सानो सानो मान्छेहरूको त्यो रूप देखेर र सोल्टीको हँसाउने शैलीले मैले हाँसो रोक्न नै सकिन ।

खाना खान भित्र पस्दा पनि  मेरो हाँसो रोकिएको थिएन । दिदीको सासू आमाले किन हाँसेको भनेर अनेक पटक सोध्नु भयो, म भने हाँसि रहेँ । “कचौरा देखेर हो?”, “करुवा अर्कै देखेर हो?” – उहाँका प्रश्नहरु बर्षिरहे र म पनि हाँसिरहेँ । बरु भर्खर बिहे भएर आएकी बिचरी मेरी दिदीको हालत भने साह्रै टीठलाग्दो थियो । भेट्न आएको भाइलाई पनि के भन्नु, भाइ यसरि हाँस्दा सासू ससुराहरुले के सोच्नु होला भन्ने डर अर्को तिर । मेरो हाँसो कति बेला रोकियो अहिले मलाई याद छैन, तर त्यो घट्नाको भने बेला बेलामा स्मरण भई रहन्छ ।

रहरहरू आवश्यकता भन्दा ठूला हुन्छन् । म क्यानडामा छु अहिले । क्यानडा क्षेत्रफलको हिसाबले दोस्रो ठूलो देश हो विश्वमा । घरहरू ठूला, सपनाहरू पनि ठूला छन् भन्छु म त । ठूलो सुत्ने कोठा, ठूलो बैठक कोठा, ठूलो महङ्गो कार या अरू यस्तै ठूलो चाहना हुन्छन् मान्छेहरूका जून सानो बस्तुले पनि पुरा हुनसक्थे ।

अरु साँघुरो ठाउँ या अभावमा बस्ने मान्छेहरूका सपना ठूला नहुने हैनन् या घर ठूलो हुने चाहना न हुने हैन – तर सानै क्षेत्रफल पनि ठूलो हुन्छ अभावमा । खुसी धेरै हुन्छ प्रति बर्ग फिटको हिसाब गर्दा, जस्तो सानोमा साना खुसी ठूलठूला हुन्थे हाम्रा लागी ।

विदेशमा पनि हाँसिन्छ बेला मौकामा, तर त्यो सानो हुँदाको जस्तो उन्मुक्त हाँसो हो या अर्कै थाहा छैन । आफू ठूलो, पाको या अरू केहि भएर हो स साना खुसीहरू अपुग र अपुरा जस्ता हुन्छन्, तिनिहरूको महत्व बिर्सिन्छ । नत्र त तीनै स-साना खुसीहरू जीवनका सुन्दर रङ्गहरू पो बन्थे !

आँखाले भ्याउँनेसम्म देखिने मरुभूमि, बालुवा, क्याक्टस र मरुभूमिको चर्को तापमा पनि हामी हाँसिरह्यौँ । कुनै सीमा वा बन्देज थिएन कुराको । मुखै दुख्ने गरेर हाँसियो । हाँस्न त साथीहरू  सँग नै रमाइलो !

विदेशीनु पर्यो रहर या बाध्यताले । आमा बुवा, गाउँ, आफन्ती, साथी भाइ र हुर्किएको ठाउँको महत्व कति हुन्छ भन्ने कुरा विदेशियकाहरुलाई सोध्नुपर्छ । म हरेक बिछोड र पीडाको हिसाब जोसुकैलाई पनि राम्ररी बुझाउन सक्छु भन्ने लाग्छ मलाई । अर्थात् सानो सानो कुराको महत्व बुझ्ने भएको छु अहिले म । सानो गाउँ, सानो पाखो, सानो घर र मेरा त्यति बेलाका स- साना रहरहरूको अर्थ राम्ररी बुझेको छु मैले अहिले ।

हाँस्नै छुटेको त हैन यता पनि, तर हाँसो घटेको भने पक्का हो । यता, बिदेशिय फछिको कुरा गर्दा मलाई एउटा यात्रा सधै याद आउँछ । एक पटक मेरा अनन्य मित्रहरू अनुप न्यौपाने, नबिन बैध्य र म न्यू मेक्सिकोबाट लगातार ३५ घण्टाको ड्राइभमा थियौँ टेक्सासको ह्युस्टनका लागी । २०१० मे, अनुप जी र म क्यानडाबाट नबिनजी लाई न्यू मेक्सिकोमा भेटेर त्यहाँबाट एन आर एन को क्षेत्रीय सम्मेलनमा भाग लिन टेक्सासतर्फ जाँदा र फेरि त्यहि बाटो फर्किँदा  लगातार ड्राइभ गर्यौं जाँदा आउँदा ७० घण्टा । थकाइ नै महशुष भएन । यत्ति हाँसियो कि त्यति सायदै अरू कुनै बेला हाँसिएको होस्, कमसेकम बिदेशिय पछि हाँसेको त मलाई पटक्कै सम्झना छैन । अहिले पनि म कुनै बेला ती दिनहरू सम्झेर रोमाञ्चित हुन्छु ।

आँखाले भ्याउँनेसम्म देखिने मरुभूमि, बालुवा, क्याक्टस र मरुभूमिको चर्को तापमा पनि हामी हाँसिरह्यौँ । कुनै सीमा वा बन्देज थिएन कुराको । मुखै दुख्ने गरेर हाँसियो । हाँस्न त साथीहरू  सँग नै रमाइलो !

हामी बाँधिएका छौं, खुम्चिएका छौं, नकारात्मक सोचको भारीले थिचिएका छौं अथवा रहरहरूले या अझ भनौं असीमित चाहनाहरूले निर्देशित गरिएका छौं । चिन्तित छौं या खुसी बुझ्न सकेका छैनौं । समाजले सानैदेखि यस्तै सिकाइरहेको छ हामीलाई । अघि पछि छन् हाम्रा खुसीहरू, हामी खुसी खोजिरहेका छौं । त्यो उन्मत्त हाँसो पर्खिरहेको छ हामीलाई, हामी भने हाँसो खोजिरहेका छौं ।

सानोमा नक्कली रातो आलु घडी पाउँदाको खुसी र ठूलो भएपछि महङ्गो घडी किन्दा या सस्तो काम चलाउ घडी किन्दाको खुसी उस्तै हो – फरक हाम्रो सोचाईको हो । साइकलको टायरको पाङ्ग्रा गुडाउँदाको मजा र मर्सिडिज कार चलाउँदाको मजा पनि उस्तै हो ! समय बदलिएको हो, हाँस्नुको मजा त उस्तै हो । आहा ! सबै बिर्सिएर बच्चा झैँ हाँस्दा पो हाँस्नुको मजा !

रुकुम, नेपाल

 

वि.सं.२०७६ जेठ १८ शनिवार ०५:५२ मा प्रकाशित

Himalayan Life AD
लघुकथाः परित्यक्त

लघुकथाः परित्यक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर सबैले भन्थे—“यस स्थानमा शान्ति...

लघुकथा : काउसो

लघुकथा : काउसो

मनीषकुमार शर्मा ‘समित’, भक्तपुर संसद भवनको अगाडि ठूलो तयारी, रातो...