
बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण केही दिनदेखि साँझपख वर्षा हुँदै आएको र त्यो केही दिन अझै कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“तीन÷चार दिनसम्म अझै प्रायः अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने देखिन्छ । दिउँसो घाम लागे पनि साँझपख मौसममा बदली भई पश्चिम तराईबाहेकका स्थानमा वर्षा हुने सम्भावना छ”, महाशाखाका मौसमविद् मीनकुमार अर्यालल भने ।
जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रह्यो भने मनसुन हुन्छ तर त्यो प्रणाली हाल शुरु भइसकेको छैन । अहिले वायुमण्डलको तल्लो सतह (एक-डेढ किलोमिटरसम्म) मात्र उक्त वायुको प्रभाव रहेको मौसमविद् अर्यालले बताए ।
सामान्यतया नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । तर यस वर्ष झण्डै एक साता ढिला हुने देखिएको महाशाखाको अनुमान छ । नेपालमा मनसुन प्रवेश हुने भारतको केरलामा अहिलेसम्म मनसुन शुरु भएको देखिँदैन ।
वि.सं.२०७६ जेठ १९ आइतवार १२:५४ मा प्रकाशित




























