२० जेठ, बैतडी । दशरथचन्द नगरपालिका–२ देहिमाडौँमा जारी दोस्रो संस्करणको मेयर कप टी–ट्वाण्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
निङ्गलाशैनी खेलमैदान देहिमाडौँमा भएको खेलमा दशरथचन्द नगरपालिका–१ गुरुखोलालाई ६ विकेटले हराउँदै देहिमाडौँ सेमिफाइनल पुगेको हो ।
टस जितेर ब्याटिङ गरेको गुरुखोलाले जयबहादुर टेरको २४ रनको मद्दतमा १५७ रन बनायो । १५८ रनको विजयी लक्ष्य देहिमाडौँले चार विकेटको क्षतिमा पूरा ग¥यो । देहिमाडौँका लागि दीपक बोहराले ६९ रन बनाए । उनी ‘म्यान अफ दी म्याच’समेत भए । चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा देहिमाडौँ समूह ‘ए’बाट सेमिफाइनल प्रवेश गरेको हो । समूह ‘बी’बाट दशरथचन्द नगरपालिका–४ खलङ्गा, समूह ‘सी’बाट दशरथचन्द नगरपालिका–१० बाराकोट तथा समूह ‘डी’बाट दशरथचन्द नगरपालिका–५ दशरथचन्द सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।
मङ्गलबार सेमिफाइनलका खेल हुनेछन् । दशरथचन्द नगरपालिकाको आयोजना, बैतडी जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग तथा नगर क्रिकेट समितिको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा ११ टोलीको सहभागिता रहेको नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।
वि.सं.२०७६ जेठ २० सोमवार २०:१७ मा प्रकाशित