
युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिकाको पाँचौ महाधिबेशन र साकेला सम्पन्न भएको छ । राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेशनको उद्घाटनका क्रममा राईले संसारभरी पहिचानको आन्दोलन उठिरहेका बेला नेपालमा पनि उठ्नु स्वाभाविक रहेको बताएका थिए ।
राईले संसारमै ट्राइवल पोलिटिक्सको अभियान तिब्ररुपमा अगाडी बढेको बताउँदै अमेरिकामा पनि आइडेण्टीटी पोलिटिक्स तिब्रतर रुपमा बढेको तथा अफ्रिकन अमेरिकन, स्पानिश अमेरिकन भनेर आइडेण्टीटी भएको छ । यसलाई अमेरिकाले मेन्टेन गरेको हुँदा अ ग्रेट नेसन्स, स्ट्रोङ्ग युनाईटेड स्टेट अफ अमेरिका भएको छ । यसरी नै नेपालमा पनि पहिचानको आन्दोलन चलिरहेकोमा स्वभाविक रहेको बताए ।

‘तर, पहिचानको आन्दोलनमा एकअर्काको सहअस्तित्वलाइ सधै ख्याल राख्नुपर्ने हुन्छ । नेपालमा पनि बिभिन्न भाषा, धर्म, संस्कार संस्कृति रहेको र राष्ट्रियगानले भने जस्तो सयौं थुङ्गा फुलमा हामी पनि एउटा रंगिन फूल हौँ । राईले भने, ‘अहिलेको सरकारी तथ्यांक अनुसार सरकारले २६ वटा भाषामा पाठ्यक्रम निर्माण गरि रहेको छ । यसमा यहाँ विदेश बस्नेहरुले पनि सहयोग गर्नु भए राम्रो हुन्छ ।’
त्यस्तै अर्का वक्ता अर्गनाइजेशनका केन्द्रीय सभापति बिष्णु राइले नेपाल को १ न प्रदेशको नाम किराँत प्रदेश हुनुपर्ने जोडदार माग गर्दै उनले भने, ‘किराँत सभ्यता, इतिहास र भूगोल हो, यदि गणतन्त्र नेपाल भै सक्दा पनि १ नं प्रदेशको नाम पहिचान युक्त नाम ‘किराँत’ नराख्ने हो भने उक्त कुरा प्राप्तिको आन्दोलनमा अमेरिकाबाट हरतरहले सहयोग गरिने छ ।’

कार्यक्रममा नेपाली संघिय समाज अमेरिकाका लोक चेम्जोङ्ग, आदिवाशी जनजाति महासंघका सभापति मान रानामगर ,फिप्नाका सभामुख बिनोद पोमु, तामांङ सोसाइटीका लक्यान लामा, मधेसी एसोसोएसनका मनोज सिंह, अर्गनाइजेशनका सस्थापक सभापति राज कुमार राई, अर्गनाइजेशनका पूर्व सभापति मिलन राई, जनसम्पर्क समितिका आनन्द बिष्ट, एनआरएनए अमेरिकाका पूर्वसभापति शिब कुमार राई, एनआरएनए अमेरीकाका प्रतिनिधि नविन शेरचन, प्रवाशी मंचका राधाकृष्ण देउजा, मगर संघका अध्यक्ष कुलदीप राना मगरलगायतले सम्बोधन गरेका थिए ।
अर्गनाइजेशनका सभापति बिष्णु राइको सभापतित्वमा भएको उक्त कार्यक्रममा मुना राईको स्वागत मन्तव्य र शेखर राईको संचालन रहेको थियो ।
मुना राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
महाधिवेशनले मुना राईको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
जसको उपसभापतिमा घनश्याम राई क्यालिफोर्निया, महासचिव जय राई कनेक्टिकट, कोषाध्यक्ष नबिन कला राधिका राई न्युयोर्क, बोर्ड मेम्बर शुख राई न्युयोर्क, कुशुम राई डिएमभीपी र गुलशन राई न्युइंग्ल्याण्ड चयन भएका छन् ।

भव्यरुपमा साकेला सम्पन्न
महाधिवेशनको अर्कोदिन न्युयोर्कको क्विन्स ब्रिज पार्कमा भब्यरुपमा साकेला कार्यक्रम सम्पन्न गरिएको थियो ।
संयुक्त रास्ट्र संघका लागी नेपाली स्थायी प्रतिनिधि अमृत राईको सम्बोधन रहेको उक्त कार्यक्रममा बिभिन्न वक्ताहरुले आफ्ना भनाई राखेका थिए ।

नेपाल र अमेरीकाको राष्ट्रिय धुनसँगै शुरुभएको उक्त कार्यक्रममा अमेरीकाको भिन्न राज्यबाट आएका सहभागीहरुले आ–आफ्नो साकेला नृत्य प्रस्तुत गरेका अन्त्यमा सम्पूर्ण सहभागी भएको नृत्य प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाली कन्सुलेट कार्यालयका पुष्पराज भट्टराईको समेत उपस्थिति थियो ।
वि.सं.२०७६ जेठ २१ मंगलवार १५:०५ मा प्रकाशित


























