
२३ जेठ । लोक सेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले प्रदर्शन गरेका छन् ।
लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत रहेको भन्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघले बुधबार सरकार र आयोग विरुद्ध विरोध रयाली प्रदर्शन गरेको राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निस्पक्षले जनाए ।
लोक सेवा आयोगले जारी गरेको विज्ञापन तत्काल खारेज गर लगायतका नारा लगाउदै जनकपुरको रामान्द चोकबाट निस्केको रयाली जनक चोकमा पुगेर कोणसभामा परिणत भएको महासचिव निस्पक्षले जानकारी दिए ।
विद्यार्थी तथा महिला नेतृहरुले संयुक्त रुपमा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको विरुद्धमा नारा लगाएका थिए । संघीयताको मर्म विपरित लोकसेवा आयोग र समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विज्ञापन जारी गरेको भन्दै संघका अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले विज्ञापन खारेजी गर्न माग गरेका थिए ।
सरकारले विज्ञापन खारेज गरी आयोगका अध्यक्ष उमेश मैनाली र मन्त्री पण्डित विरुद्ध कारबाही नगरे अझै शसक्त आन्दोलन गर्ने झाले चेतावनी दिए । यसअघि संघले मंगलबार मन्त्री पण्डित र अध्यक्ष मैनालीको पुत्ला दहन गरेका थिए । जनकपुरको भानुचोकमा सडक जाम गरी जाराबाजी गर्दै युवाहरुले पुत्ला दहन गरेका थिए ।
वि.सं.२०७६ जेठ २३ बिहीवार ०८:४६ मा प्रकाशित




























