२४ जेठ, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) कृषि समितिको मुना कार्यदलको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।
बुधबार संघको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित उद्घाटन कार्यक्रममा संघका अध्यक्ष भवन भट्ट र पूर्वमन्त्री गणेश साहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कृषि समितिका अध्यक्ष युवराज गुरुङको सभापतित्व र सहसंयोजक कपिलदेव थापाको संचालनमा सम्पन्न भएको उक्त मुना कार्यदलको सम्पर्क कार्यालयको उद्घाटन क्रममा मन्त्री साहले कृषि समितिको प्रगतिको कामना गर्दै देशमा किसानको सम्मान नभएको भन्दै किसानलाई सम्मान गरेमा देश समृद्ध हुने बताएका थिए । उनले भने, ‘जुन देशमा किसानको सम्मान हुन्न त्यो देश सधैं गरिब नै रहन्छ ।’
उद्घाटन कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले कृषि समितिले द्रुत गतिमा काम गरिरहेकोमा खुसी व्यक्त गर्दै कृषि मुना वजारलाई अनुदानका भरमा नभएर व्यवसायीक मोडलमा लैजानुपर्ने बताएका थिए ।

त्यस्तै राष्ट्रिय कृषक महासंघका सचिव रामहरि शर्माले देशमा जनसंख्या बढ्दै गएको र कृषि योग्य जमिन घट्दै गएकोमा दुःख व्यक्त गरेका थिए । उनले किसानप्रति राज्यको नीति सहि नभएको बताउँदै एनआरएनएको कृषि समितिलाई राष्ट्रिय कृषक महासंघ सदैव सहयोग गर्न तयार रहेको बताएका थिए ।
त्यस्तै अष्ट ज अभियानका आइसीसी संयोजक तथा एनआरएनए कृषि समिति अमेरिकाका संयोजक डा. दुर्गादत्त पौडेलले एनआरएनए कृषि कमिटी राम्रो प्लेटफर्म रहेको र यसमा सबै क्षेत्रका विज्ञहरु समेटिएको बताउँदै ‘ब्रेन ड्रेन’ भयो भनेर चिन्ता लिनु नपर्ने बताएका थिए ।
त्यस्तै धानविज्ञ भोलामान बस्नेतले उत्पादनमा फ्युजन पोलिसीको आवस्यकता रहेको बताउँदै परम्परागत र आधुनिक दुवै तरिकालाई मिलाएर उत्पादनमा लाग्नुपर्ने बताएका थिए । उनले अग्र्यानिक उत्पादन मात्र भनेर नहुने बताउँदै संसारमा कुनैपनि देश अग्र्यानिक उत्पादन गरेर खाद्य सुरक्षा नभएको बताए । उनले पूर्ण अग्र्यानिक नभइ विकल्पसहित रसायनिक मल घटाउँदै जानुपर्ने बताए ।

कृषि समितिका अध्यक्ष युवराज गुरुङले मुना बजारमा कममा १० हजार र बढीमा १० लाख सम्म लगानी गर्न सकिने बताउँदै सबैलाई मुनाबजारमा आवद्ध हुन आव्हान गरेका थिए । उनले मुना कार्यदलले विभिन्न उपसमिति बनाएर द्रुत गतिमा काम गरिरहेको जानकारी दिए । जसमा अग्र्यानिकतर्फ राम भण्डारी, खाद्यसुरक्षा समितिमा डा. पिताम्बर दाहाललगायत रहेको उपसमितिहरुले काम गरिरहेको बताएका थिए ।
उनले मुना बजारले कृषि र किसानका समस्यामा पोलिसी लविङमा सहयोग, क्यारेन्टाइन, मललगायतमा प्रत्यक्ष सरोकार राख्ने पूर्ण सामाजिक उत्तरदायित्व सहितको व्यसायलाई अगाडि बढाउने बताएका थिए ।
सोहि अवसरमा संघकी उपाध्यक्ष सपिला राज भण्डारी,राष्ट्रिय मान अधिकार आयोगका सदस्य सुदीप पाठक, रवर विज्ञ तिलक भण्डारी, डा. राजेन्द्र देवकोटा, राम भण्डारी, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम लगायतको उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघको कृषि समितिद्धारा आधुनिक कृषि बजारको निर्माणका लागि गठन गरिएको उक्त मुना कार्यदलले प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढिरहेको पनि अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
वि.सं.२०७६ जेठ २४ शुक्रवार ०७:३५ मा प्रकाशित




























