
२८ जेठ, धनगढी । धनगढी –७ का मनेहरा मंगीराम चौधरीको परिवार चार दिनदेखि छिमेकीको जमिनमा झुप्रो बनाएर बसिरहेका छन् । हावाहुरीले घर भताभुंग बनायो , ओत लाग्ने ठाउँसमेत रहेन, हुरीसँगै आएको वर्षाले खानेकुरा नष्ट भयो । मजदुरी गरेर चारजनाको परिवार पाल्दै आएका उनी अहिले गाउँको पसलबाट उधारोमा खाद्यान्न किनेर छाक टारिरहेका छन् ।
घर ठड्याउने पैसा नभएपछि उनको परिवारले दिउँसो खुला आकास र फाटेको पालमुनि रात काटिरहेको छ । बिचल्लीमा परेको पाँच दिनसम्म उनले कतैबाट राहात पाएका छैनन् । अनुगमन गर्नेहरु पुग्दा राहत पाइन्छ कि भन्ने आशा जाग्छ, तर उनीहरु हेरेर मात्रै फर्किने गरेको उनको भनाइ छ । ‘हाम्रो बिजोग हेर्न धेरै आए, राहात दिने आश्वासन पनि दिए, तर फर्केर कोही आएनन्,’ मंगीरामले दुःखेसो गरे,‘राहतको नाममा अहिलेसम्म केही पनि पाएका छैनौँ । ’ मंगलबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ २८ मंगलवार ०८:३५ मा प्रकाशित




























