back

जोन-सुपरजोनको कथा, जुनारको नियति र ‘अन्तिम भोज’को तयारी

वि.सं.२०७६ जेठ २८ मंगलवार

570 

shares


यस पटक देशका विभिन्न जिल्लाहरुबाट करिब २१ हजार मेट्रिक टन अर्थात् करिब २ करोड १० लाख किलो जुनार विक्री भयो । त्यसमध्ये सिन्धुलीले मात्रै ९ हजार मेट्रिक टन अर्थात ९० लाख किलो र रामेछापले ६ हजार मे।टन विक्री गर्यो । बांकी अन्य जिल्लाले विक्री गरे ।

यस पटक किसानले आफ्नो फार्मबाटै औसतमा ४० रुपैंया किलोको दरले जुनार विक्री गरे । अर्थात करिब ८४ करोड रुपैंया किसानको घरमा भित्रियो । अघिल्लो वर्ष पनि लगभग यस्तै अवस्था थियो ।

यो तथ्यांक थाहा पाएपछि जस्लाई पनि लाग्छ—तुलनात्मक रुपमा सजिलो खेती जुनारबाट त्यति रकम नेपाली किसानको घरमा भित्रिनु राम्रै हो ।
हो, निश्चिय पनि राम्रै हो ।
तर, पख्नुस् जुनार खेतीको यो एउटा दृश्य मात्रै हो । अर्को दृश्य थाहा पाएपछि तपाई—हामी जो पनि जिब्रो टोक्न वाध्य हुन्छौं । किनकी जुनारको माग र मूल्य राम्रो हुंदा हुंदै पनि यति बेला धेरै किसानहरु जुनारको ‘अन्तिम भोज’को तयारीमा छन् । अर्थात् जुनार खेती व्यवसायिकताबाट पछाडी धकेलिंदै छ र किसानहरु जुनारको विकल्प खोज्दैछन् ।

‘अबको केही वर्षपछि नेपाली बजारमा भारत, अमेरिका र युरोपका जुनार त पाइएला, नेपालकै जुनार चांही पाइने छैन । जुनारको भविश्य सकियो सर ।’ जुनार उत्पादक सहकारी संघका अध्यक्ष दीपक कोइरालाले हिजो मसंग भन्नुभयो ।
तपाईलाई लाग्ला त्यत्रो उत्पादन र कारोवार भैरहेको जुनार एकै पटक कसरी सकिन्छ ?

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कमलामाई नगरपालिका र गोलन्जोर गाउंपालिकाका केही वडालाई समेटेर जुनार सुपर जोन बनाएको छ । सुपरजोनको ‘कागजी उद्धेश्य’ चांही जुनार खेतीको विकास र विस्तार गर्ने हो । तर परिणाम ठाक्कै उल्टो भएको छ ।

कसरी ?
जुनार सुपरजोनले किसानलाई अनुदान बांडिरहेको छ । यो वर्ष मात्रै ६ करोड रुपैया सकिदैछ । अघिल्लो वर्ष पनि परियोजनाले करोडौं रकम बांडेकै हो । अनुदान कस्ताले पाइरहेका छन् ? भन्नु नपर्ला । ‘खाओवादी किसान’ले अनुदान रकम लिइरहेका छन्, तिनीहरुलाई जुनार उत्पादनसंग सरोकार छैन, जुनारको नाममा पैसा खान र खुवाउन पाए पुग्यो । जुनार सुपरजोनका हाकिम देवराज अधिकारीको कार्य क्षमता र इमान्दारिता माथि कसैले शंका गर्दैन । तर, ‘माथिबाटै लाइन मिलाएर खानेहरु’लाई विचरा जोनका हाकिम अधिकारीले के पो गरुन ?

यसरी जुनार सुपर जोनको अनुदानमा तमासा भएपछि वास्तविक रुपमा खेती गर्ने किसानहरु चांही ‘जति गरे पनि हामीले नपाइने रहेछ’ भन्दै निराश छन् । उत्पादनलाई कटौती गर्न थालेका छन् । अर्थात् किसानहरु निराश भएर उत्पादन घटाउंदै छन् भने दलालहरु चांही प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानमा ‘मामाको घोडी मेरी हिहि’ गरिरहेका छन् ।

भाषण गर्दा ‘किसानको विकास’ भन्दैमा के हुन्छ ? जब किसानको लागि जानु पर्ने रकम जति नेताहरुको वरिपरि दलालहरुले लुटेपछि विकास कसरी हुन्छ ? जतिवटा जोन, सुपर जोन, महा सुपरजोन बनाए पनि नियति त उत्पादन ठप्प र दलाल मख्ख मात्रै हो । नपत्याए जुनार किसानको नियति र जुनार सुपर जोनको ‘प्वाल परेको थैली’ हेरौं । सबै कुरा छर्लंग हुन्छ ।

कठै मेरो देशको ‘विकासे मोडल’ ।
आउनुहोस
समृद्ध नेपाल, सुखी नेपालीको नारा घन्काउं ।
कृषिमा ‘कार्की प्रवृत्ति’ जिन्दावादको नारा लगाउं ।

कृषि उत्पादन किन बढाउनु पर्यो ?
दलाल बढाए देश समृद्ध भैहाल्छ नी, कि कसो ?

वि.सं.२०७६ जेठ २८ मंगलवार १२:०५ मा प्रकाशित

Himalayan Life AD