back

पल्टनेको फोटो

वि.सं.२०७६ जेठ ३२ शनिवार

795 

shares

यो संघारको फोटो मेरो पल्टनेको हो ।

ऊ ब्रिटिस गोरखा रेजिमेन्टको सिपाही हो । ब्रिटिस गोरखा रेजिमेन्टलाई यता नेपाली भाषामा पल्टन भनिन्छ र त्यो पल्टनको सिपाहीलाई पल्टने भनिन्छ । त्यसो भएर यो फोटोको मान्छे पल्टने हो र म निश्चय गर्दछु कि त्यो पल्टनेको फोटो मेरो मान्छे हो । राइफल म्यान तुलबहादुर पुन : २३-२४ वर्षको उमेरमा १८ वर्ष लेखाएर गोरखपुर कुनाघाटमा भर्ती हुन गयो । दोस्रो विश्वयुद्धको समय थियो, गाउँमा गल्लावाल जवान केटाहरुलाई भेट्न खोसामारी हुने । त्यसैले उसलाइृ एक मोहर बोइँदो दिएर गल्लावालले भर्ती गरायो । त्यही पल्टनेको फोटो मेरो दिलको कीलामा ठोकिएर घरको सँघारमाथि टाँसिएको छ ।

यही सँघारको फोटोलाई आमाले हरेक वर्ष दशैँमा टिका लगाइदिनुहुन्छ र आर्शीवाद दिनुहुन्छ । हरेक वर्ष तिहारमा चेलीले भाइटीका र फूलमाला लगाइदिएर दीर्घायुको शुभकामना दिन्छन् । त्यसो भएर यो सँघारको पल्टने फोटो यो घरको छोरो हो, यो घरको माइती हो र मेरो लोग्ने पनि हो ।

हेर्दछु, घाम छल्ने हो या बम छल्न कि, वा दुवे छल्न टाउकामाथि ओढेको छ-गोरखा हेट । त्यो गोरखा हेटमुनि थिचिएको अदपको आदिवासी अनुहार । एउटा हात्तीले एकैफालमा पछार्न नसक्ने र चारवटा बाघले एक छाकमा सिद्धयाउन नसक्ने ज्यानको मालिक हो–मेरो पल्टने । अहिले त्यो पल्टने मलाई यहाँ छाडिराखेर पल्टन गएको छ । ती नौ डाँडाभन्दा पारि र सात समुन्द्रभन्दा प…र…. ! जहाँ सम्झना मात्रै पुग्दछ ।

त्यो पल्टने सामुद्रिक आँधी जस्तो आँधिएर आउँछ मेरो जीवनमा र आँधी जस्तै लगत्तै फर्किएर जान्छ । केवल चैतको हावामा भुइँ खसेको सालको पतकरझैँ सरसराइरहेका हुन्छन् मसँग उनका सम्झनाहरु मात्रै । यहाँ बाटो काटेर जता भाग्न खोजेपनि मेरो पाइला छेकेर सँघारमा बसिरहेको हुन्छ ‘यो निर्दयी पल्टनेको फोटो ।’
‘छियामा घाँसको भारीभन्दा जवानीको भारी ज्यादा भो के रे नि !’

घाँसको भारी गोठमा पुराएर डोको करेसामा घोप्ट्याईवरी घरभित्र छिर्न खोज्छु ता सँघारमै मेरो बाटो पो छेकेर बोल्दछ, –“त्यो पल्टनेको फोटो ।”

म उसलाई हेर्न मन पराउँदिन कि बोल्न ? म सधैँ भ्रान्तिमा हुन्छु । म यौवनको भारी बाकेर कतै सम्झनाको झोरघारीमा हुन्छु । म भैतिक शरीरले मात्रै सिकुवाको डिलमा बस्छु । आकाशमा घाम त्यो पल्टनेको फोटोझैँ हाँसिरहेको हुन्छ । तल खोलाबाट बहेर आएको हावाले मलाई सिकुवाको डिलमा छुन्छ । पर जङ्गलबाट कोहो !कोहो ! गर्दै आएको कोइलीको स्वरले मेरो नाम सोधेजस्तो हुन्छ । माथि चिलाउनेको रुखमा बसेर “कुक्कु ! कुक्कु !” गर्दै कुक्कु चरी मसँग लुकामारी खेल्न खोज्छ ।

‘लौलौ.. तिमी रिसायौ भने त मोरी…. झन् राम्री !” फेरी मलाई बिथोल्न आइपुग्छ पल्टनेको आवाज ।

‘छ्याः पल्टनेहर कति इत्रिन जान्या हुन्छन् ।’ मलाई त्यो पल्टने बानी मन पर्छ कि पर्दैन, थाहा हुँदैन ।

आँगनमा भर्खर काढेको चिङ्नाहरुलाई माउ पोथीले रितुतुतु डुलाइरहेको हुन्छ । आमा हुन जति गाह्रो हुनछ त्यति आनन्द पनि हुन्छ होला । त्यो हेर्दा मनमा नजानिँदो आनन्दको लहर दगुरेर जान्छ ।

त्यो माउ पोथी अलिक पर पुगेर दुवे खुट्टाले भुइँ खोस्रिन्छे र कीरा र गड्यौला निकालेर“ कि .. कि.. कि ! गर्दै आफूलाई नाघेर अलिक पर पुगिसकेका चिङ्नाहरुलाई डाक्छे । रितुतुतु चिङ्नाहरु फर्किएर आएर आमालाई घेरा हान्छन् । ठीक त्यही बेला एउटा जखमले रातो भालेले दाउ पारेर भर्खरकी सुत्केरी पोथीमाथि झम्टिन्छ । क्वाँक क्वाँक गर्दै पोथी एक डल्लो परेर अलिक पर उच्छिटिन्छे र चिङ्नाहरु हच्किएर भित्तामा पुग्छन् ।

‘हँ..हँ.. हँ.. !” आँगनमुनिको खोरको सँगुरले पनि भालेको बदमासी थाहा पाउँछ ।
‘हा….हाहाहा ! यी मातिएका भाले र पल्टने एकै हुन् !” म बसेके ठाउँबाट त्यो भालेलाई हच्काउँछु । आफ्नो उद्देश्य पूरा हुन नपाएको त्यो भाले पखेटा फटफटाउँदै मलाई नराम्रो आँखाले हेरेर जान्छ । मेरो आवाज आवश्यकता भन्दा तीखो थियो क्यार !

मतान परको गोठको थलामा सुतेर उग्राइरहेको काली भैँसी जुरक्कै उठ्छे र कान ठाडो पारेर मतिर हेर्छृे । उसको ज्यानले थिचेर गुम्सिएको स्याउला र गोबरको गन्ध उडेर मेरो नाक छुन आइपुग्छ । ‘हे.. हेहेहे ! कसको रिस पोख्या हो त्यस्तो के रे ?’ पल्टनेको फोटो हाँस्छ ।

अचेल रातिमा सिकुवाको खाटमा सुत्छु र अलिक सजिलो छ । पल्टने हुँदा जस्तो तलामाथि कोठामा सुत्न पर्दैन जसरी सरक्कै रात पर्छ, त्यसरी नै सुटुक्कै त्यो पल्टनेको फोटो मेरो ओछ्यानमा आउँछ ।

‘छियामा, अघि त रिसाइस् के रे…! हेर् न मेरो त ढङ्ग नाई… नरिसा त भन्छु के रे ’ त्यो पल्टनेको फोटो मेरो ओछ्यानमा आउँछ ।

“छियामा, अद्धि त रिसाइस् के रे.. ! हेर् न त मेरो त ढङग नाई… नरिसा त भन्छु के !’ त्यो पल्टनेको फोटो मेरो छेउमा मायाको स्वाङ पार्छ ।

‘छ्याः त्यो पल्टने तरुनी फकाउने सिपालुु हुन्छ ।’ म पनि ऊसँग झर्किएको स्वाङ पार्छु कि रिसाएको हुन्छु, थाहा पाउँदिनँ ।

त्यो पल्टनेको फोटो मलाई बरमकोटले झैँ गम्लङ्ग अँगालो मार्दछ ।
ओहो ! उही पल्टनेको अँगालो । त्यही हो मेरो पल्टनेको हाड, छाला र मासुले बनेको देह । उही हो मायाको नशालु रगत र यौवनको उष्णता ।

उस्तै हो भोको अजिङ्गरको कसिलो बेराई । सत्य यो हो कि, म मुच्र्छा पर्ला जस्तो हुन्छु । म गहिरो ऐँठन पर्ला जस्तो हुन्छु । मलाई त्यो ऐँठन मन पर्दछ ।
“जेठी, तँ राति निद्रामा ऐँठन पर्छेस्…भरैदेखि सिकुवामा नसुत् ।” मेरी सासू बिहान सिकायत गर्छिन् ।

 ‘धत् लाटी ! त्यसरी नि आमालाई पोल कहने हो ?’ म आँगनमा डोको पुराउन जाँदा पल्टेको फोटो मेरो बाटो छेक्छ । त्यो पाल्टनेले अँगालो मारेको कसैले देख्ला कि भनेर उसको अँगालोबाट उम्किन म उपियाँ जस्तो उछिट्टिएर आँगनको डिलमा पुग्छु ।

तर मलाई अँध्यारोमा घरभित्र निन्द्रा लाग्दैन । राति धेरै शौच लाग्ने अप्ठ्यारो बानी छ ।

“आमा अप्ठ्यारो सुतेर पो होला … भरै सिरानी फेरुँला ।” मेरो चलाखीपूर्ण उत्तरले पल्टनेको फोटो खिलखिलाएर हाँस्छ मलाई रुवाएर हाँस्ने ‘निर्दयी पल्टनेको फोटो । ’
म मुन्टो परक्कै बटारेर आँगनको डोको टिप्छु र पँधेरोतिर लागछु । यसरी लोग्नेलाई दङ्ग्ल्याउनु आनन्द हुँदो रहेछ स्वास्नीमान्छेलाई । भरै राति ओछ्यानमा चाकडी माग्नुको रमाइलो अर्के हुन्छ । तर आधी बाटो काटिसकेपछि पो होस् खुल्दछ कि मेरो डोको त रित्तै पो रहेछ ।

“खुब दङ्ग्यायौ हैन लाटी ! यसरी गाग्री नै नलिई पँधेरा गइदिने ।”
म होस-बेहोसमा छुटेको गाग्री लिन घर पुग्दा मलाई गिज्याउन पल्टनेको फोटो सँघारमा कुरेर बसिरहेको हुन्छ ।

“छ्याः कति नजाती हुँदो रहेछ पल्टनेको जात ।” तीनतीन वर्ष जमेको मायाको बाँध फुटेर भलबाढी नै पो जान्छ त यो सँघारवरिपरि । मलाई त्यो पल्टनेको फोटो हेर्न पनि मजा लाग्दैन र गाग्री टिपेर उसले छेकिरहेको संघारलाई नाघेर बाटा लाग्छु ।
“छियामा, बाटो हिँड्दा होस गरेस्… ठेस लाग्ला के रे नि !” मायाले भिजेको आवाज मलाई पछ्याउँदै वरसम्म आइपुग्दछ ।

“छ्या पल्टनेको मायाको स्वाङ !” मलाई त्यो मन पर्दछ कि पर्दैन त्यो पनि म थाहा पाउँदिन ।

यति सोचिसक्नासाथ म यता पल्टनेको फोटोबाट चुँडिएर उता पँधेरोमा जोडिन पुग्छु । युगौँदेखि सिलसिला नटुटेको पँधेराको पानी त्यसरी ने बगिरहेको हुन्छ । त्यो पानीको ध्वनी र म आफ्नो मुटुको ढुकढुकीको लय सुनिरहन्छु ।

“हौ.. छियामा, तिम्रा पल्टने कहिले आउँछ हँ , यस्ता जवानी रातमा एक्लै.. ।” अचेल पँधेराको अनुहार पनि बदलिएको छ, त्यहाँ पनि साथीसँगीहरुको कटाक्ष र हाँसोका फोहोराहरु बगिरहेका हुन्छन् । मलाई सबैथोक बदलिएको भान हुनछ ।
“आउँछ छिट्टै आउँछु भन्या छ .. रातिराति सपनामा पनि त आउँछ ।”

यत्रो उमेर धाएर पुरानो बनाएको पँधेरा मलाई बिरानो लाग्छ । गाग्री भरेर रित्तो मनले छिटोछिटो फट्को मार्दै म घर फर्किन्छु । छिटोछिटो हिँड्दा बाटोमा चिनेकै ढुङगोहरुमा पनि ठेस लाग्छ, थाहा पाएकै खाल्टोमा पनि खुट्टा फस्छ । गाग्रीको पानी हल्लिन्छ र बोकेको डोकोले पनि पत्याउन मान्दैन ।

“कता हो मैयाँ ! खसमलाई भेट्न यति हतारो हो कि,” बैंस लागेर मातिएका निर्दयी ढुङ्गो पनि मलाई नै आँखा लगाउने ।

म हिँडाइको धापले श्वास बढेको शरीर लिएर घर पुग्छु ।
“ आयौ, खैखै छियामा म गाग्री उतारिदिउँला !” मेरो पल्टने गग्रेटोनेर उभिएर डोकोबाट गाग्री उतार्न तयार हुन्छ ।

“लौ हेर त मायामो स्वाङ.. !” नसकिने भयो पल्टनेको मायासँग ।
म सबै थोकबाट चुँडिएर उसकै मायाको वरिपरि जोडिन पुग्छु । अनि उसको मायाको आदेश पालना गर्दै म थाप्लाबाट नाम्रीसँगै डोको खुस्काइदिन्छु कि गाग्री भुइँमा फुटेर पानी छताछुल्ल हुन्छ ।

 

एउटा बिहान म जाँतो पिँध्न बस्छु । जाँतो एकतमासले विरह गाउँछ । जाँतोको हतासो हातभित्र तातो हुँदै जान्छ र त्यसको न्यानोको परम आनन्दानूभूति मेरो शरीरको कुने अङ्गमा सल्किँदै जान्छ । ठीक त्यति नै बेला सासूको आवाज आइपुग्छ ।

“हैन.. तेरो ढङ्ग ! जेठी अचेल तेरो होस् अलिक ठेगानमा छैन.. कतै जेठाले पल्टनबाट नराम्रो चिठी त लेखेन ?” सासू मेरो बिज्याइ हेरेर विसिमत हुन्छिन् ।
“आमा, मलाई जेठाले माया नै गर्दैन… चिठी ने लेख्दैनन् ।” गाग्री फुटेर भिजेको गग्रेटाझैँ म आसु फुटेर बग्छु ।

“ धत् लाटी ! त्यसरी नि आमालाई पोल कहने हो ?” म आँगनमा डोको पुराउन जाँदा पल्टेको फोटो मेरो बाटो छेक्छ । त्यो पाल्टनेले अँगालो मारेको कसैले देख्ला कि भनेर उसको अँगालोबाट उम्किन म उपियाँ जस्तो उछिट्टिएर आँगनको डिलमा पुग्छु ।
“ ओइ बदमास नगर है ! लडिन्छ के रे नि !” पल्टनेको फोटो अझैँ जिस्काउन छोड्दैन ।
यसरी दिन बित्छ । त्यसरी नै रात पनि बित्छ ।

एउटा बिहान म जाँतो पिँध्न बस्छु । जाँतो एकतमासले विरह गाउँछ । जाँतोको हतासो हातभित्र तातो हुँदै जान्छ र त्यसको न्यानोको परम आनन्दानूभूति मेरो शरीरको कुने अङ्गमा सल्किँदै जान्छ । ठीक त्यति नै बेला सासूको आवाज आइपुग्छ ।

” जेठी हिँउद लाग्यो । फिलिङ्गेको छोप बनाइरहनुपर्छ … खुर्सानी टिप्..टिप्… ।”
म् यन्त्रवत् खुर्सानीको बोटमा पुग्छु । खुर्सानी पाकेर बोटभरि झुन्डिरहेका हुन्छन् । म के.. के.. सम्झेर रातै र पिरै हुन्छु । उत्तापट्टि थाक्रोमा फर्सी फलिरहेको हुन्छ, घिरौला लहरे झुन्डिरहेका हुन्छन् र काँक्राले चिचिला हाल्दै गरेको हुन्छ । साँच्ची नै प्रकृतिमा अदेभुत रस हुँदो रहेछ, जसले जीवनमा रङ्ग भर्दाेरहेछ सासूले फिलिङ्गे भुटिसकेर कागतीको चूक निकाल्दछिन् । म फेरि थुकसरि हुन्छु ।

म छुप्पु चलाउन थाल्दछु फिलिङ्गे ढुट्याउन । हातको मुस्ली झन्झन् शक्तिशाली हुँदै जान्छ र छुप्पूलाई लगातार प्रहार गर्दै जान्छ ।

सासूले त्यसमा अदुवा, लसुन, खुर्सानी र चूकको झोल हाल्दछिन् र छुप्पु नराम्रो गरी कराउन थाल्दछ । त्यो आवाज मेरो अन्त ःस्करणको कुनै ठाउँमा टोकिने गरी चिच्याउँछ … “छियामा , तेरो पल्टने खोइ… खोइ.. ?”

“बैसको भारी उचाल्न निकै गाह्रो हुन्छ केरे.. ! ” पल्टनेको फोटो सँघारमाथि बसेर “ के रे..” जस्तो लाग्यो लेघ्रो तानेर मलाई गिज्याइरहेको हुन्छ ।

म सिकुवाको डिलमा बसेर उसलाई हेरिरहन्छु । विवाहको पहिलोपहिलो समय आफन्तको आँखा छलेर धीत मरुन्जेल हेर्न नपाएको धोको पनि हो त्यो । अर्धकदको पल्टनेको फोटो घरको सँघारमाथि छ । उसको टाउकोमाथि दाहिनेतिर ढल्किएको छ छत्रेटोपी । दायाँ –बाँया गाला हुँदै कालो फित्ताले च्यापुमा टनटनी कसिएको अनुहारमा अदबको मुस्कान छ । बाँयापट्टि छातीमा लहरै झुन्ड्याएर हिँड्छ ।
“के हेर्या त्यस्तो हँ.. सुँगुरले जून हेरेजस्तो ।” मेरो सोचाइको शृङ्खला भाँच्दै पल्लटनेको फोटो मलाई गिज्याउँछ ।

ऊ गर्वले आफ्नो बायाँ छातीका लस्करै मेडलतिर झुकेर हेर्छ र मतिर अनुहार फर्काउँदे बोल्छ, “हामी बर्माको मोगाउ सहर अट्याकका लागि तयारी भयौँ । छचोटि गोरा बटालियनले अट्याक गर्दा नि नसकेपछि हामी गोरखालीको पालो आयो । मैले नै दुसमनको रेकी गरेँ र अट्याकको तयारी गरेँ । त्यो सहर कस्तो ठाममा रहेछ भने वारिपट्टि समुन्द्रले घेरेको र दुवैतिर खोला बगेको । त्यो खोलाको पक्की पुल बमले उडाइदिएपछि काठको पुल हालेको रै‘छ । मोगाउ सहर पुग्न त्यो पूल नतरी सुखै छैन । तर त्यो पूल कस्तो रहेछ भने त्यसमाथि मान्छे हिँड्यो भने हल्लिएर आवाज आउने बनाएको रै‘छ । हौ… छ चोटि गोरा र देशी बटालियन अट्याकमा जाँदा त्यै पुलमा स्वाहा !”

 

“ती तक्माका लस्करहरु.. के हुन् तिनका अर्थ,”
“ए… !” पल्टनेको फोटो बायाँ छातीतर्फ झुक्तै बोल्दछ ।

“देखिस्, यो बर्मा स्टार हो । अङ्ग्रेजीमा स्टार भनेको तारा हो.. नेपालीमा यसको अर्थ बर्मा तारा हो, बुझिस् लाटी !”

“अनि नजिकैको अर्काे त्यो नि… ! मेडल भनेको छातीमा तर्लाङतुर्लुङ झुन्डिने वस्तु वा गहनाभन्दा अरु केही देखेको जानेको होइन ।

“अँ यो भिक्टोरिया क्रस.. छोटकरीमा भी.सी. हो । लडाईमा ठूलो बहादुरी देखाउने सिपाहीले मात्रे पाउँछ यो, बुझिस्… !”

युद्धमैदानमा शत्रुको अगाडि अदम्य साहस र अद्वितीय सौर्य पराक्रम र नेतृत्व प्रदर्शन गरेबापत प्रदान गरिने अङ्ग्रेज सेनाको सर्वथा गौरवमय युद्ध पदक हो भनेर बल्ल ज्ञान हुन्छ ।

पल्टनेको फोटो अलिकति गला साफ गर्दछ र लडाइँको कथा भन्न तयार हुन्छ…“यो सप्पै मेडल मैले बर्माको लडाइँमा जित्यो ।”

“तँलाई थाहे छैन , यो भी.सी.को मेडल मैले कसरी जितेँ ।” ऊ मलाई छातीको मेडल देखाउँदै भन्छ ।

ऊ गर्वले आफ्नो बायाँ छातीका लस्करै मेडलतिर झुकेर हेर्छ र मतिर अनुहार फर्काउँदे बोल्छ, “हामी बर्माको मोगाउ सहर अट्याकका लागि तयारी भयौँ । छचोटि गोरा बटालियनले अट्याक गर्दा नि नसकेपछि हामी गोरखालीको पालो आयो । मैले नै दुसमनको रेकी गरेँ र अट्याकको तयारी गरेँ । त्यो सहर कस्तो ठाममा रहेछ भने वारिपट्टि समुन्द्रले घेरेको र दुवैतिर खोला बगेको । त्यो खोलाको पक्की पुल बमले उडाइदिएपछि काठको पुल हालेको रै‘छ । मोगाउ सहर पुग्न त्यो पूल नतरी सुखै छैन । तर त्यो पूल कस्तो रहेछ भने त्यसमाथि मान्छे हिँड्यो भने हल्लिएर आवाज आउने बनाएको रै‘छ । हौ… छ चोटि गोरा र देशी बटालियन अट्याकमा जाँदा त्यै पुलमा स्वाहा !”

हामीले रातको १ बजे अट्याक गर्ने तयारी गर्यो । जतिखेर सेन्ट्री थकाइ र निन्द्राले च्यापेको हुन्छ । हामी दुइवटा कम्पनी अट्याकमा जाने भयो । अगाडिको कम्पनी पुल तरेर अट्याक गर्ने र पछाडिको कम्पनी वारि बस्ने दुस्मनबाट गोलाबारी सुर भयो भने पछाडिपट्टिको कम्पनीले ठूलोठुलो हल्ला गरेर धेरै अट्याकमा आएछन् भन्ने पार्ने स्किम बनायो त्यसका लागि पहिलो ग्रुपमा म, एकजना सिपाही, एक जना सेक्सन कमान्डर र कम्पनी अफिसर तयारी भयोैँ ।

यति भनिसकेर निक्केबेर मुखमा जमेको थुक निलेर फेरि बोल्छ..“सबै तयारी भएपछि हामी आस्तेआस्ते पुल तर्याेँ र भित्र छिर्याेँ ।

सेन्ट्री मज्जाले सुतेछ, थाहौ पाउन उनेरुले । भित्र छिरेर हामीले बमसम तयारी पारेम् । साप् ले इसारा गर्यो, इसारा दिनसाथ दुलोबाट गनको नाल बाहिर निकालेर बसेका दुष्मनको टे«न्चभित्र बम फालिदियौँ । त्यो पट्याङ्ग पड्कियो, अर्काे नि पड्कियो ।

अर्काे नि फाल्यो, अर्को नि फालियो । त्यति भएपछि भित्रकाहरु हल्ला खल्ला गर्न लाग्यो । फायर पनि गर्न लाग्यो । सेन्ट्री बसेको त ढुट्टो पिठो भयो के’रे ! त्यहिबेला हाम्रो मान्छेहरु पुलमा अटाइ–नअटाई छिर्यो के’ रे ! त्यहाँबाट त हाम्रो मान्छेहरु र उनीहरुको मान्छे जम्मै मिसियो क्या । छयाल व्याल नै भयो– कोहीले टाङटाङ र टुङटुङ गोली पड्काएका छन् । कोहीले राइफलले हान्या छन् , गरेर धुस्न पारियो । अलि अलि आँखा देखिने उज्यालो हुँदा त मर्नेजति मरेछन र बाँकी सप्पै भागेछन् । अनि त्यो पुल हाम्रो कब्जामा भयो । तर, मोगाउ सहर धेरै अगाडि थियो । हामी सहरको नजिक गयो र क्याम्प खडा गरेर बस्यो । ’

उँ बोल्दा बोल्दै एकछिन रोकियो र फेरि मलाई हेर्दै बोल्यो, ‘त्यसपछि दुई रात हामीले फर्जी अट्याक गर्र्यौ । फर्जी अट्याक भनेको के हो थाहा छ ?’

उसको प्रश्नसूचनक आँखा मतिर तेर्साउँछ र आफ्नै गलाबाट प्रत्युत्तर निकाल्छ– फर्जी अट्याक भनेको गोली सोली पड्काउने र हल्ला खल्ला गरेर दुश्मनलाई झुक्याउने क्या ! तेस्रो रात पनि हामी गयौं । यसरी जाँदा त तोपको पोजिसन साथ पुगिएछ । उनीहरुले फायर खोल्दा त हाम्रा मान्छे सबै भुक्रुम भए । लुक्ने ठाउँ कहिँ छैन । खुल्ला मैदान छ के’रे ! अगाडि पछाडिको सबै भुक्रुम भए के’रे ! उताबाट तोपगन उताबाट मेसिनगत छोड्या छोड्यै छ । हामीले त फायर खोल्नै पाएनौं । अब हामी जोरी खोज्न जाने कि, राखोस् त बाँकी । उनीहरु ट्रेन्चभित्र हामी बाहिर ! सप्पै फौजी सकिए पनि म सबभन्दा दायाँ भएकाले उसको गनको रेन्ज भन्दा बाहिर परेर बाँचे । एउटा प्लाटुन हवलदार आँपको रुख भेटेर बाँचेको रहेछ । यसले मलाई भन्यो, ‘ए पुन ! तेरो हतियार त्यहिँ छोड र त्यो गन उठाएर चार्ज गर ।

यसो यताउता हरे, कोही छैन के’रे ! अब मर्ने पालो मेरो रै’छ । यति मात्रै सोँचे मैले । मरो पालो आफ्नो राइफल त्यहि राखेर यस्तो सट्ट हेरको त दुश्मनले मलाई देखि हाल्यो । सप्पैले हतियार मतिर तेर्साइ हाले हैं । म त फुत्तै उफ्रेर अगाडि गएँ र अर्को फङ्ग हान्दा त सेक्सन कमाण्डरको छेउमा भएको हतियारको नजिक पुगिहालें । लोड गरिराखेको मेसिनगन टिपेर दुस्मनको बीचमा अर्को फङ्ग हालें र भ..ट..ट..ट..ट..

मेसिन गन एक राउण्ड घुमाएर फायर गर्दा त त्यहाँ वरिपरिका सबै खत्तम भए छन् । त्यहाँ’ट फेरि अगाडि फङ्ग हालेर गयो । अलिक पल्लो पट्टी सानो खाल्डो खनेर गोली पोस्ट गरेको रै’छ । त्यहाँ चारजना गोली भर्दै रहेछन । म त त्यहि पो फङ्ग हालेर पुगिछु र तिनीहरु आत्तिएछन । मैले फायर गर्न खोजेको त मेरो गोली सकेको रै’छ , राइफलको ट्रियर मात्रै पो ठ्याक्क गर्छ के रे ! यस्सो पोचेसमा छामेको एउटा रिर्जभ गोलीको म्यागेजिन बाँकी रहेछ । त्यहि लोड गरेर फायर गरेको त्यो पनि पड्केन, परेन के त फसाद । त्यो देखेर उनीहरुले मलाई समात्न आउन लागे । मेरो पालो बम निकालेर त्यहि खाल्डोमा जखिदियो । त्यो खाल्डोको सप्पै सिद्धिए । त्यहाँबाट त्यो खाल्डो पनि नाघेर पल्लो भित्तामा फङग मारेँ । जहाँ मेसिन गन छ, तोप छ, तर मसँग गोली छैन के रे ! अर्कोपालि फङ्ग हाल्दा त्यति नै खेर तल पुल कब्जा गर्दाखेरीका गोरासा’प त्यहाँ आईपुगेछ ।

‘ए केटा, मलाई गोली लाग्यो, लैजा… भन्छ के रे ।’ दुस्मनले चारैतिरबाट मेसिनगन फायर गर्यागर्यै छ के रे ! म भित्ताबाट फङग हालेर खाल्डोमा झर्या छु–लाग्दैन । हाम्रो मान्छे यौटैले पनि टाउको उठाएको छैन । सप्पै सोत्तर– सम्म छ के रे !

पल्टनेको फोटो यति लामा वांक्याश एकोहोरो सासमा फर्र बोली सिद्धाएर एकछिन रोकिन्छ र सासलाई दोहोरो बनाएर बोल्छ…‘थाहा छ, त्यसपछि के भयो ? अन्त फायर अलिक मधुरो भाथ्यो । यस्सो सट्ट ‘अँ आफ्नै पनि…!’ उँ बायाँ आँखा भिम्क्याउँछ र अलिक बठ्याईको भाषा बोल्छ ।

ठीक त्यहि बेला सासूको आवाज मेरो कानो सुरुङमा ठोक्किन आइपुग्छु, ‘ओइ जेठी, तँ त फेरि बसेकै ठाउँमा एकोहोएिर टोलाउन जो थालिस् कि ! धेरै दुःखी नभएस् । जेठा पल्टनबाट छुट्टीमा आउने खबर आएको छ…!’

सासूको आवाज आएर एकछिन मभित्र अलमलिन्छ र आँधीझै भुमरी परेर मलाई फनफनी पार्दछ । यो सुखको खबरले म खुसी हुनुपर्ने कि दुखी ? यतिबेला मैले रुनु पर्ने कि हाँस्नु ? म दुःख र सुख छुट्याउनका नसक्ने स्थितिमा हुन्छु । तापनि सासूको आवाजमा कुनै अनौठो आनन्दको लहर आएर मेरो शरीरको अङ्गहरु झमझमाईरहन्छ ।

म सोच्द छु, ‘के यो पल्टनेको फोटो भन्दा अर्को पनि मेरो दुनियाँ छ ?’
बेलायतमा रहेका साहित्यकार रक्ष राईको हालै प्रकाशित कथा संग्रह ‘पल्टनेको फोटो’ बाट लिइएको ।

बेलायतमा रहेका साहित्यकार रक्ष राईको हालै प्रकाशित कथा संग्रह ‘पल्टनेको फोटो’ बाट लिइएको ।

वि.सं.२०७६ जेठ ३२ शनिवार १२:१७ मा प्रकाशित

Himalayan Life AD
लघुकथाः परित्यक्त

लघुकथाः परित्यक्त

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर सबैले भन्थे—“यस स्थानमा शान्ति...

लघुकथा : काउसो

लघुकथा : काउसो

मनीषकुमार शर्मा ‘समित’, भक्तपुर संसद भवनको अगाडि ठूलो तयारी, रातो...