
३ असार । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालयले त्रिवि सेवा आयोगमा भएको तालाबन्दी प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै वार्तामा आउन आग्रह गरेको छ ।
रजिष्ट्रारद्वारा जारी प्रेस विज्ञप्तिमा त्रिवि सेवामा कार्यरत शिक्षक तथा कर्मचारीको आन्तरिक तथा खुला प्रतियोगिताको माध्यमबाट नियुक्ति तथा बढुवाको लागि त्रिवि सेवा आयोगबाट निश्चित समय तालिका निर्धारण गरी अन्तवार्ता भइरहेको अवस्थामा एक्कासी अन्तर्वार्ता अवरोध हुने गरी केही विद्यार्थी संगठनले तालाबन्दी गर्दा कर्मचारीको वृत्ति विकासमा असर पर्ने भन्दै छलफलका लागि विद्यार्थी संगठनलाई वार्तामा आउन आग्रह गरिएको छ ।
सम्बन्धित निकायबाट वार्ता र संवादको प्रयास गरिरहेको अवस्थामा पनि वृत्ति विकासमा असर पार्ने गरी तालाबन्दी गर्ने जस्तो क्रियाकलाप नगरिदिन भन्दै समस्याको समाधानका लागि वार्तामा आउन आह्वान गरिएको हो ।
विज्ञप्तिमा तालाबन्दीमा संलग्न व्यक्तिहरुलाई सुरक्षाकर्मीबाट पक्राउ गरिएको भन्ने विषयमा पनि कार्यालयको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।
वि.सं.२०७६ असार ३ मंगलवार ०८:३४ मा प्रकाशित