
१९ असार, त्रिपोली । लिबियाका अर्थमन्त्री अलि अल–इसावीले लिबियामा सन् २०११ देखि करिब एक खर्ब ४० अर्ब डलर बराबरका १४ हजार विकास परियोजना स्थगित भएको बताएका छन् ।
राजधानीमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अल–इसावीले स्वीकृत परियोजनामध्ये आधा वा एक तिहाइ मात्र पनि कार्यान्वयनमा आएका भए त्यसबाट राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले सरकारी फौज र पूर्वी क्षेत्रमा सक्रिय सेनाबीच राजधानी त्रिपोलीलाई केन्द्रित गरी भइरहेको युद्धले मुलुकको आर्थिक परिस्थितिमा सुधार ल्याउने कार्यक्रमलाई भ्रमित पारिरहेको बताए ।
मन्त्री अल–इसावीले भने, युद्ध समाप्त भएपछि त्रिपोलीको पुनःनिर्माण र विकासमा युद्धस्तरमा जुट्नुको विकल्प छैन ।
लिबियाको पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्षले त्रिपोलीलाई नियन्त्रणमा लिन गत अप्रिलदेखि सङ्घर्षलाई तिब्र बनाएको छ । यस युद्धबाट सयौँको ज्यान गइसकेको छ भने हजारौँ घाइते भएका छन् । युद्ध भडकिएसँगै दशौँ हजार मानिस सुरक्षाको खोजीमा घर त्यागेर पलायन हुन बाध्य भएका छन् ।
सन् २०११ मा लिबियाली नेता मउमर गद्दाफीको शासन पतन भएसँगै लिबियामा हिंसाका घटना बढ्नुका साथै राजनीतिक अस्थिरता चरम अवस्थामा पुगेको छ ।
वि.सं.२०७६ असार १९ बिहीवार ११:४८ मा प्रकाशित