२४ असार, काठमाडौँ । प्रधानमनत्री केपी ओलीले विषादी परीक्षण रोक्न भारतको दबाब नआएको दाबी गरेको ठिक एक साताअघि नै भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई ‘दबाबमूलक’ पत्र पठाएको खुलेको छ । नेकपा संसदीय दलको शनिबारको बैठकमा ओलीले तरकारीमा विषादी परीक्षण रोक्न कुनै पनि पत्र नआएको दाबी गरेका थिए । जबकि काठमाडौँस्थित भारतीय दूतावासबाट परराष्ट्रलाई सम्बोधन गर्दै असार १४ को मितिमा पठाएको पत्र सोमबार सञ्चार माध्यमहरुमा सार्वजनिक भएको छ ।
पत्र सार्वजनिक भएसँगै प्रधानमन्त्रीले यसबारे जानकारी नै नपाएका हुन् वा जानकारी पाएर पनि लुकाउन खोजेका हुन् भन्ने प्रश्न उठेको छ । । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मात्रिका यादवले सोमबार पत्रकार सम्मेलन मार्फत यस प्रकरणमा ‘ सचिवहरुले आफूलाई गुमराहमा राखे’ भन्ने अभिव्यक्ति दिनुले सरकारी निकायबीचको समन्वयमा पनि संशय बढेको छ । शनिबारको बैठकमा नेकपाका सांसदले पत्रबारे सुइँको पाएर नै सरकारले भारतसँग झुकेर विषादी परीक्षण रोकेको हो भन्ने प्रश्न गरेका थिए । जवाफमा ओलीले भनेका थिए,‘ कसैको दवावमा विषादी परीक्षणबाट सरकार पछि हटेको होइन । भारतबाट पत्र आयो रे । खोइ कसलाई पत्र आयो ? कसले पढ्यो त्यो पत्र , मलाई थाहा छैन । ’ मंगलबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ असार २४ मंगलवार ०७:५५ मा प्रकाशित