२४ असार, म्याग्दी । प्रभावित क्षेत्रका अगुवाहरुले बेनी–कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध स्थानान्तरणको माग गरेका छन् । विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको प्रस्तावित बाँध स्थल परिवर्तनका लागि म्याग्दी र पर्वतका सरोकारवाला तथा जनप्रतिनिधिले सुझाव दिएका हुन् ।
विभागले जलजला गाउँपालिकाको बगरफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले बेनी ,बगरफाँट, पर्वत बेनी, लामाखेल र आसपासका बस्तीको वातावरणमा प्रतिकूल असर पार्ने खतरा भएकाले बाँधस्थल परिवर्तन गर्न माग गरेका हुन् ।
कालीगण्डकी नदी सुकाउँदा तापक्रम वृद्धि हुने, खानेपानी र सिँचाइको स्रोत सुक्ने खतरा भएकाले हाल प्रस्तावित भन्दा करिव डेढ किलोमिटर माथि बाँध बनाउँदा उपयुक्त हुने बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए । मंगलबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ असार २४ मंगलवार ०८:१८ मा प्रकाशित




























