२६ असार, वीरगन्ज । वीरगन्ज महानगरपालिकाभित्रकै सामुदायिक विद्यालयका विद्यार्थी भुइँमा बसेर पढ्न बाध्य छन् । वीरगन्ज महानगरपालिका –१८ भवानीपुरमा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयमा कक्षाकोठा अभाव छ । विद्यार्थी सङ्ख्याअनुसार कक्षाकोठा नहुँदा बरन्डामा समेत कक्षा सञ्चालन हुन्छ । भएका कक्षाकोठामा पनि डेस्क–बेन्च छैनन् । निकै लामो समयदेखि आफूहरु भुइँमा बसेर पढिरहेको विद्यार्थीले बताए ।
विद्यालयमा पाँच सय सङ्ख्याको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । तर, प्रधानाध्यापकसहित शिक्षक आठजना मात्र छन् । दुई तलाको विद्यालयमा आठवटा मात्र कोठा छन् । भुइँमा बस्नुपर्दा आफूहरुलाई समस्या हुने गरेको कक्षा अनठमा अध्ययनरत छात्रा मञ्जुकुमारी पटेलले बताइन् । ‘कक्षाकोठा छैन । भुइँमा पनि खाँदिएर बस्नुपर्छ । ’ कक्षाकोठामा डेस्कबेन्चसमेत छैन ।‘हामी पढ्न त आएका छौं,’ मञ्जु भन्छिन्, ‘उकुसमुकुसमा पढाएको पनि राम्ररी बुझिँदैन । शिक्षकले जहाँ बसाउनुहुन्छ, त्यही बस्नुपर्छ ।’ बिहीबारको नयाँ पत्रिका पोस्टबाट