
२७ असार, काठमाडौँ । बिहीबारदेखि निरन्तर परेको वर्षाको कारण विभिन्न ठाउँमा पहिरो परी मृत्यु हुनाको साथै सडकखण्डहरु पनि अवरुद्ध भएका छन् । पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।
डोजर लगाएर लेदो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेदो झरेर सडक अवरुद्ध भएपछि सवारी साधनहरू बीच बाटैमा रोकिएका छन् । सो स्थानमा पानी परेपछि माथिबाट आएको लेदोले पटक–पटक सडक अवरुद्ध गर्दै आएको छ ।
त्यस्तै महोत्तरीको रातो खोलामा आएको बाढीले शुक्रबार बिहान एक वृद्धलाई बगाएको छ । बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो ।विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण रातो खोलामा आएको बाढीले आज बिहान ११ बजेतिर बैठालाई बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । घाँस काट्न वनमा गएको बैठाले खोला तर्न खोज्दा बाढीले बगाएर लगेको प्रहरीले जनाएको छ ।
बाढीले मानिस बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक बुढाथोकीको नेतृत्वमा खटिगएको प्रहरी टोली र सशस्त्र प्रहरी बेस क्याम्प बनौटाबाट खटिएको सशस्त्र प्रहरीले रातो खोलाको किनारामा पर्ने विभिन्न स्थानमा बैठाको खोजतलास भइरहेको छ ।
यसैगरी खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् । चार दिनदेखि लगातार परेको वर्षाका कारण शुक्रबार बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भएका छन् भने उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् । आज बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताए।
“पहिरोले घर बगाउनासाथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका रहेछन्”, उनले भने , “अहिले बेपत्ताको उद्धारका लागि खोटाङ बजार इलाका प्रहरी कार्यालयबाट प्रहरीसहितको टोली घटनास्थलमा परिचालन भएका छन् ।”घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ताबारे थप जानकारी पाउन नसकिएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।
घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या हुनाका साथै लगातारको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा लगातारको वर्षासँगै चलेको हावाहुरीले गए रातिदेखि विद्युतसमेत अवरुद्ध भएको छ ।
यसैगरी अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले घर पुर्दा बनेपा नगरपालिका–३ चुनातालका दुईको मृत्यु हुनाका साथै अन्य दुई घाइते भएका छन् । स्थानीय रामप्रसाद दङ्गालको ढुङ्गा र माटोले बनेको दुईतले घर बिहीबार राति ११ बजे पहिरो पुर्दा उनकी श्रीमती ६० वर्षीया गोमा र नातिनी सात वर्षीया सुहबीको मृत्यु भएको थियो भने बुहारी ३० वर्षीया सुशीला र उनकी तीन महीनाकी छोरी अनुष्का घाइते भएका थिए । घरमा रहेका चारैजना घरभित्र पुरिएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयाज सापकोटाले जानकारी दिएका छन् ।
घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अविरल वर्षाका कारण चौँरीदेउराली–४ मजुवामा शुक्रबार बिहान पहिरोले तीन घरमा क्षति पु¥याएको छ । स्थानीयवासी दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागाईंको घरमा पहिरोले क्षति पु¥याएको पीडित गौतमले जानकारी दिए। उनका अनुसार बिहानको समयमा पहिरोले क्षति घरमा पुर्दा पनि मानवीय क्षति भने भएको छैन । पहिरोले मजुवामै रहेको कुशल कृषि उत्पादक समूहद्वारा सञ्चालित बाख्रापालन फार्ममा क्षति पुगेको सोही स्थानका लिलानाथ गौतमले बताए। उनका अनुसार मजुवाका विभिन्न स्थानमा पहिरो जाने क्रम नरोकिँदा बस्तीनै जोखिममा पर्ने सम्भावना छ ।
यसैबीच अविरल वर्षाका कारण सडकमा लेदो जम्दा आज बिहानदेखि बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–११ कटुञ्जेको सडक अवरुद्ध भएको छ । प्रहरी उपरीक्षक सापकोटाका अनुसार खोसापी–ढुङ्खर्क सडकखण्डको केही स्थानमा पहिरो तथा सडक भत्कँदा यातायात अवरुद्ध भएको छ । पहिरोका कारण कोलाँती–मुलाबारी–गुराँसे सडक अवरुद्ध भएको स्थानीयवासी विष्णप्रसाद चौलागाईंले जानकारी दिएका छन् ।
त्यस्तै अविरल वर्षाका कारण बनेपास्थित पुलबजारस्थित सडक आज बिहानदेखि डुबानमा पर्दा अरनिको राजमार्ग अवरुद्ध भएको छ । ठूला सवारीसाधन मुस्किलले डुबान सडक पार गरिरहेका छन् भने हलुका तथा दुईपाङ्ग्रे सवारीसाधन बाटोमै रोकिएका छन् । यसैगरी गए रातिदेखि परेको अविरल वर्षाले हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरीको विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानदेखि हेटौँडा–कुलेखानी सडकखण्डको यातायात सेवा अवरुद्ध भएको छ ।
त्यस्तै मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आजै बिहान हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै सवारी साधन भैँसेस्थित त्रिभुवन राजपथबाटै सञ्चालनमा ल्याइएको छ । फाखेलको महालक्ष्मी पुल नजीक र सिस्नेरीेको विभिन्न स्थानमा पहिरो जाँदा हेटौँडा–कुलेखानी यातायात सञ्चालनमा अवरोध भएको हो ।
यसैबीच त्रिभुवन राजपथको बागझोरामा आज बिहान ९ बजेपछि आएको बाढीले हेटौँडा–काठमाडौँको यातायात सेवा पनि अवरुद्ध भएको उक्त कार्यालयले जनाएको छ । हेटौँडाबाट भैँसे, भीमफेद, दामन र पालुङ जाने सवारीसाधन बागझोरामै रोकिरहेको भैँसेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आज दिउँसो मौसममा सुधार भए डोरबारबाट पहिरो हटाई बागझोरामा यातायात सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।
यसैबीच वर्षाका कारण छहरेटोखा सडकखण्ड मा पहिरो जाने भएकाले सावधानीपूर्वक यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सबै यात्रुलाई आग्रह गरेको छ भने पासाङ ल्हामु राजमार्गको राम्चे, मूलखर्क, खोपाङको भिर, मैलुङ, स्याफ्रुबेँसीका साथै रसुवागढीसम्मको सडकमा जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न पनि आग्रह गरिएको हो ।
बुटवलबाट पाल्पा जाने बाटो पनि बन्द छ । लमजुङबाट मनाङ जाने बाटो बन्द छ भने भोजपुरबाट धरान जाने बाटो बन्द भएको समाचार प्राप्त भएको छ ।