
अमेरिकामा रहेका नेपाली कांग्रेसका नेताहरुले संगठन बलियो बनाउनु पर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन, अमेरिका शाखाले न्युयोर्कको आफ्नै कार्यालयमा भएको अतिथिहरुको स्वागत तथा भेटघाट कार्यक्रममा नेताहरुले उक्त कुरामा जोड दिएका हुन् ।
जुन ११ को बेलुकी आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र विशेष अतिथिमा नेपाल तरुण दलका सभापति जित जगं बस्नेत थिए । कार्यक्रम को अध्यक्षता यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले गरेका थिए ।
अध्यक्ष घिमिरेले प्रमुख अतिथि र विशेष अतिथिलाई खादा लगाइ स्वागत र सम्मान गरेका थिए । अध्यक्ष घिमीरेले शुभकामना मन्तव्य दिदै सबै उपस्थित महानुभावहरुलाई परिचय गराएका थिए ।
उक्त कार्यक्रममा फाउण्डेशनकी सल्लाहकार तथा एक जुझारु नेत्री उमा शाह र अर्का हाम्रा जुझारु नेता, एनआरएनए अमेरीकाका सल्लाहकार श्याम काजी गुरुङ र नेका नेत्री रामेश्वरी बिष्ट भट्टराईलाई पनि खादा लगाइ अध्यक्षले स्वागत गरेका थिए ।
फाउण्डेशनका उपाध्यक्ष सुवर्ण लामाले अतिथिहरुलाई स्वागत गर्दै अमेरिकाको कांग्रेसका साथीहरुको कृयाकलापको बारेमा धारणा राख्दै अरु कसैको पछाडि नलागी आफ्नो संगठन बलियो र एक ढिक्का बनाउनु पर्ने धारणा व्यक्त गरे ।
स्वागत मन्तव्यकै क्रममा फाउण्डेशनका केन्द्रीय सदस्य तथा नेपालि जनसम्पर्क समिति अमेरीका का सस्थांपक सदस्य आदित्य महर्जनले समिति बारे आफ्नो धारणा राख्दै पार्टीले सही मुल्याकंन गर्नु पर्ने बताए ।
यसरी स्वागत मन्तव्य दिनेहरुमा नेपाल तरुण दल पर्वतका उपाध्यक्ष हेमन्त बम मल्ल, नेपाली जनसम्पर्क समिति अमेरिका न्युयोर्ककी कोशाध्यक्ष मोना शर्मा, नेपाल तरुण दल अमेरिकाका उपसभापति अनन्त सुवेदी, एनआरएनए अमेरीकाका निमित्त बोर्ड अफ डाइरेक्टर आङ निमा ग्यालजेन शेर्पा लगायत थिए ।
मन्तव्यकै क्रममा श्यामकाजी गुरुङले पार्टीमा सबैलाई समेटेर एउटा बलियो खम्बा बनाउन सबै लाग्नु पर्ने धारणा राख्दै अब कम्युनिस्ट सगं लडन तयार हुन आग्रहसमेत गरे । फाउण्डेशनकी सल्लाहकार उमा शाहले अब हामीले हिजोका दिनहरु मा गरेका गल्ती, कमीकमजोरीलाई आत्मसाथ गर्दै सच्चिइ अघी बढन आग्रह गरिन् । उनले फाउण्डेशनलाई सरसल्लाह दिने आफ्नो कर्तव्यलाई दृढताका साथ गर्ने र फाउण्डेशनले सामाजिक कार्यहरु गरेर अघी बढेकोमा खुशी व्यक्त पनि व्यक्त गरिन् ।
विशेष अतिथि नेपाल तरुण दलका सभापति जितजगं बस्नेतले यस फाउण्डेशनलाइ उत्तरोत्तर प्रगतिको शुभकामना दिदै नेपाल तरुण दल र आफ्नो व्यक्तिगत तर्फवाट सहयोग गर्न तयार रहेको भन्दै अमेरिकी मुलधार राजनीतिमा संलग्न हुँदै नेपाली र अमेरिकी राजनितीज्ञ बिच बहसको थालनी गर्न पहलकदमी गर्न सुझाव दिएका थिए । साथै नेपालमा दुइ तिहाइ कम्युनिस्ट सरकारले प्रजातन्त्र, प्रेस स्वतन्त्रता र न्यायालयमा प्रहार सुरु गरेको र कम्युनिस्ट शासन लाद्न खोजेकोले नेपाल तरुण दलले शसक्त आन्दोलन गर्ने घोषणा गरेर देशभरी सरकारलाई खबरदारी गर्दै आएको प्रष्ट्याएका थिए ।

अन्त्यमा कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले हाम्रो मुहान नै धमिलो भएकाले अब हामी सबै मिली सङ्लो बनाउन पहल गर्नुपर्दछ भन्ने विचार राखे । उनले अमेरिका जस्तो ससांरकै पुरानो प्रजातान्त्रिक देशमा जहाँ कम्युनिस्टलाई ‘क’ पनि भन्ने अधिकार छैन, तिनिहरुसँग हामी प्रजातन्त्रवादी साथीहरु नै नजिक भएर सहकार्य गर्नु नै आफ्नो खुट्टा मा आफै बन्चरो हान्नु हो, भने । यस्ता गतिविधिहरू तुरुन्त बन्द गर्न र कांग्रेसका साथीहरु एक भएर अघि बढन समेत आग्रह गरे ।
गिरिजा कोइराला फाउण्डेशन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरेले नेपाल र विदेशी मुलुकको सम्बन्ध राम्रो बनाउन फाउण्डेशनले पुलको काम गर्ने बताए । उनले नेपालको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासका लागि फाउण्डेशनले महत्वपूर्ण भूमिका खेल्ने जानकारी गराए ।
युग पुरुष गिरिजाप्रसाद कोइरालाको तिन मन्त्र सहमति, सहकार्य र एकताले नै नेपाललाई नयाँ युगमा प्रवेश गराएको ताजै छ भन्ने धारणा राख्दै सबै उपस्थित महानुभावहरुलाई धन्यवाद प्रकट गरेका थिए ।