सुदूर बिहानी देखि
हूलका हूल मान्छेहरू
दौडिरहेका छन्–दौडिरहेकाछन्
अनिश्चित गन्तव्यतिर
रुँदै र कोकोहोलो गर्दै ।
सारा संसार
लासको ढुवानीमा –व्यस्त छ ।
*
कसैलाई
आगोको ज्वालामा होमिनुछ
कसैलाई आहुति हुनुछ
मट्टीको गर्भगृहमा ।
मलामीको ताँतीमा लामबद्ध
रिलेदौडमा समाबेश
मान्छेहरु
आँसुका धारामा नुहाउदै
नाटकको
अन्तिम दृश्य मञ्चन गरेर
सर्लक्क
जीवनको पर्दा खसाउँछन् ।
टक्क रोकिन्छ
हावाको गति
र
समयको भव्य चिहानमा
समाधिस्थ हुन्छ
एक महानभ्रम
अनि
अद्भुत रहस्य ।
जीवनका सारा छट्पटीहरु
समाहित हुन्छन्–अनन्त शान्तिमा ।
वि.सं.२०७६ असार २८ शनिवार ११:०६ मा प्रकाशित