
‘यो सार्कीको छोरो पढ्दै पढ्दैन दाइ’ विष्णुप्रसाद पौडेलले सुनाउदै भने, ‘अस्ति भर्खर पाँच सय रुपे खर्च गरेर नाम लेखाई देको, हेर्नु न यस्तो छ ।’
‘नाम लेखाउदै पाँच सय लाग्यो त भाइ ?’ पौडेल भाइको गुनासोमा चासो राखे ।
‘हैन नि, कपि कलम ड्रेस पनि किन्देको । कान्छोसंगै पढ्न जावोस् भनेर ।’ दिक्दारी व्यक्त गर्दै उसले थप्यो ‘बरु गोठालो गर्न भनेसी खुसी भएर जान्छ, स्कुल जान मनै गर्दैन ।’
‘उमेर कति भो ?’ मैले सोधी नसक्दै ‘१२ त पुग्यो होला नि दाइ’ उसले जवाफ दियो अनि ‘जति गर्दानी नहुँने, सरकारले भने अझै यस्तैलाई आरक्षण दिने रे !’ ओठ लोप्रायो ।
‘भाइको पढाई कस्तो छ ? कतिमा पढ्छ ?’ जिज्ञासा राखे ।
‘यिनीहरु दमाली हुन् तर मेरो भाइ आठ क्लासमा पढ्छ, यो सार्की एकमा ।’ फिस्स हाँस्दै उसले थप्यो ‘भाइ त जहिले फस्र्ट, सेकेण्ड भई रहन्छ ।’
‘तिमीले नि भाइ ?’ मैले पौडेल भाइको पढाई सोधे ।
‘मेरो कुरा गर्नु भा, खै पढ्न सकिएन दाइ । ईतिहासमा स्नातक गरेर बसेको छु ।’
‘बाले ?’
‘शास्त्री गर्नु भा’रे ।’
‘हजुरबाले ?’
‘वेद, पुराण, उपनिषदहरु पढ्नु हुन्थ्योरे ।’
‘तिम्रो जिजुबाजेले ?’
‘उहाँ त शास्त्रार्थ गर्नु हुन्थ्यो रे ।’
‘यो फुच्चेको बाले नि ?’
‘छैन ।’
‘यसको हजुर बाले ?’
‘दाइ पनि, यिनीहरुको परिवारमा पढ्ने यो नै पहिलो हो । यसले पनि पढ्नै मन गर्दैन बरु हलो जोत्छु भन्छ ।’ पौडेल भाइले राज्यको नीति र दलित संघसंगठनहरुका मागप्रति हाँसो गर्दै भन्यो ‘अझ यिनीहरुलाई नै आरक्षण, के के चाहियो रे !’
‘आरक्षण हुनुपर्छ’ मैले भने
‘नपढ्नेलाई नै किन आरक्षण दिनु पर्यो नि ?’
‘नपढेकाले’
‘यिनीहरुले कहिले पढ्छन् ?’
‘पढ्नु पर्छ भन्ने बुझेपछि ।’
मैले अझ थपे ‘तिमीहरुले पो हजारौं वर्ष अघिदेखि नै पढ्दै आएका छौ र पढ्छौ त । यिनीहरुले त मनुको पालादेखि पढ्न पाएनन् ।’
पौडेल भाइ अलमल्ल पर्यो ।