७ साउन, काठमाडौँ । उपत्यकाका तीन जिल्लामा मात्रै एक सय रोपनीभन्दा बढी जग्गा रहेको नेपाल बाल संगठन (बालमन्दिर) आफू भने टहरामा बसेर कामकाज धानिरहेको छ ।
नक्साल्स्थित केन्द्रीय कार्यालयको धभवन भूकम्पले भत्काएर जीर्ण बनेयता ‘कामचलाउ’ छ । बालगृहका ९० बालबालिका भवन परिसर छेउको साँघुरो खाली जग्गामा निर्मित टहरोमै छन् । जहाँ संवेदनशील अवस्थाका नवजात शिशुदेखि १८ वर्षसम्मका बालबालिका हुन्छन् । जीर्ण भवनको भुइँतलामा बालमन्दिर कार्यालय अस्तव्यस्त छ । भवन पपिरसरको खाली जग्गामा घु¥यान थुप्रिएको छ ।
भवन रेट्रोफिटिङ गरुन्जेलसम्म बालमन्दिर मातसतहको ‘शिक्षाका लागि खाद्य कार्यक्रम’ भवनमा बालबच्चा सार्ने योजना राखिएको थियो । तर जेठ २३ को मन्त्रिपरिषद् निर्णयले खाद्य कार्यक्रमलाई सानोठिमी, भक्तपुरमा सारी कमलपोखरी प्रहरी वृत्तलाई नक्सालमा राख्ने भनिएपछि बालमन्दिर टहरोमै बसेको छ ।
मन्दिरका निर्देशक बालकृष्ण डंगोल भन्छन्, ‘समस्या हुँदाहुँदै पनि विकल्प नभएपछि बालबालिकालाई टहरामै राख्नपर्ने बाध्यता छ ।’ बालमन्दिरले आफूसँग भएको जग्गामध्ये ५५ रोपनी १३ आना २ पैसा जग्गा व्यापारिक तथा व्यावसायिक प्रयोजनका लागि अरुलाई प्रयोग गर्न दिइएको छ । मंगलबारको कान्तिपुर दैनिक बाट ।
वि.सं.२०७६ साउन ७ मंगलवार ०८:०२ मा प्रकाशित


























