७ साउन भियना । संयुक्त राष्ट्रसङ्घ, अन्तराष्ट्रिय आणविक शक्ति सङ्ेगठन (आईएईए) का महानिर्देशक युकिया अमानोको निधन भएको उक्त सङ्गठनले सोमबार जानकारी गराएको छ । उनी ७२ वर्षका थिए ।
संयुक्त राष्ट्रसङ्घ आणविक सङ्गठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अन्तरराष्ट्रिय आणविक शक्ति सङ्गठन सचिवालय सङ्गठनका महानिर्देशक युकिया अमानोको दुःखद निधनको खबरले स्तब्ध भएको छ ।”
जापानी भूमिमा जन्मिएका अमानो राष्ट्रसङ्घअन्तर्गतको आणविक हतियार नियमनकारी निकाय (आईएईए)को प्रमुखका रूपमा सन् २००९ देखि मृत्युपर्यन्त निरन्तर तीन कार्यकालसम्म काम गर्नुभएको थियो । आईएईएमा उहाँकै नेतृत्व रहेका समय संसारकै लागि महत्वपूर्ण मानिएको इरानसँगको आणविक सम्झौता भएको थियो । आईएईए प्रमुखका रूपमा अमानोले नै इरानसँगको आणविक सम्झौता (इरानसँगको आणविक हतियारसम्बन्धी संयुक्त वृहद् कार्ययोजना–२०१५)लाई प्रमाणीकरण र नियमन गरेका थिए ।
भूतपूर्व अमेरिकी राष्ट्रपतिको पहलमा बेलायत, चीन, रूस, फ्रान्स, जर्मनीसहित छ शक्तिराष्ट्रहरू र युरोपेली युनियनले इरान उक्त सम्झौताका हस्ताक्षरकर्ता रहेका थिए । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै गत वर्षदेखि अमेरिका सम्झौताबाट फिर्ता भएको थियो ।
विज्ञप्तिमा भनिएको छ, “अमानोको नेतृत्वमा विगत एक दशकसम्म राष्ट्रसङ्घीय उक्त आणविक निकायले शान्ति र विकासका लागि आणविक शक्तिको निर्माण भन्ने उद्देश्यअनुरूप ठोस नतिजा प्राप्त गर्न सफलता पाउनुभएको थियो ।” आईएईएले अमानोको मृत्युको समय र कारणबारे केही उल्लेख गरेको छैन ।
कूटनीतिक स्रोतहरूले बुधबार सिन्ह्वालाई दिएको एक जानकारीमा अमानोको कार्यकाल सन् २०२१ सम्म रहेको भए पनि स्वास्थ्यको कारण सन् २०२० को मार्चसम्म पदबाट हट्ने योजना बनाएका थिए ।