७ साउन, काठमाण्डौं । ठूला लगानीकर्ताले सेयर बजारका बारेमा पूर्ण जानकारी नभइकन लाखौं या करोडौं रुपैयाँ डुबाउँदैनन् । सेयर बजारको पूर्ण जानकारी लिएर नै उनीहरु सेयर बजारमा लगानी गर्छन् र मनग्य मुनाफा पनि कमाउँछन् । तर, थोरै पैसा लगानी गरेर, ऋण खोजेर भएपनि भविष्यमा केही आर्थिक आयआर्जन गर्छु भन्नेहरुले भने सेयर बजारका बारेमा बुझ्नै पर्ने हुन्छ । विना जानकारी सेयर बजारमा पैसा लगानी गर्दा कत्तिको त घरबारै गएको र ज्यानै जाने अवस्था आएको पनि हामी कसैबाट छिपेको छैन । सेयर कारोबारकै कारण कतिले डिप्रेसनमा पनि जानु परेको अवस्था छ ।
अन्य व्यवसाय जस्तै शेयर बजारमा पनि फाइदा र नोक्सानको बारेमा जान्नै पर्ने हुन्छ । हुन त सजगता अपनाएरै शेयर बजारमा पस्ने गरिन्छ । तर, त्यसमा पनि शेयर बजार सम्बन्धी जानकारी राखेमा तपाईको भविष्यमा आर्थिक उन्नती अवस्य हुनेछ ।
शेयर बजारमा लगानी गर्दा जुन कम्पनीको शेयरमा लगानी गर्न थाल्नु भएको छ त्यसको दैनिक कारोबारलाई ध्यान दिनुहोस् । कारोबार हुँदा र खरिद विक्रिको अवस्था बुझ्नुहोस् । बढी बिक्रि हुने कम्पनीको शेयरमा लगानी गर्नभन्दा पहिले सोच्नुहोस् ।
त्यस्तै वित्तिय कारोबार पारदर्शी भएको कम्पनी रोज्नुहोस् । बोनस सेयर दिने कम्पनी रोज्नुहोस् । सञ्चालक र व्यवस्थापक भरपर्दा छन कि छैनन् अथवा उनीहरुका पछिल्ला गतिबिधि के कस्तो हो बुझ्नुहोस् । साथै बलियो नेटवर्क भएको कम्पनी रोज्नुहोस् । कम्तिमा पाँचवर्षदेखि नाफा कमाउँदै आएको कम्पनी रोज्नुहोस् । सेयर निष्कासन गर्ने कम्पनी खराव सूचीमा परेको छ कि छैन हेर्नुहोस ।
वि.सं.२०७६ साउन ७ मंगलवार १६:३३ मा प्रकाशित



























