९ साउन, काठमाडौँ । नेपालगन्ज उपमहानगर –२० स्थित बालविवाहविरुद्ध वडास्तरीय क्लबका अध्यक्ष गोविन्द विकले संस्थाकी सचिव गीता थापासँग विवाह गरे । दुवैको उमेर १७ वर्ष छ । भिनाजुको घरमा बस्दै आएकी गीता क्याम्पस जाने भन्दै गोविन्दसँग भागिन् । अहिले उनीहरु गाउँ छाडेर बसाइँ सरेका छन् । गोविन्द कक्षा १० कक्षा र गीता उच्च माविमा अध्ययनरत थिए । जिल्लास्तरीय किशोरी क्लबकी अध्यक्ष बबिता खत्रीले पद सम्हालेको एक साता नबित्दै बिहे गरिन् । उनी १८ वर्षकी छन् । गत वैशाखमा बैजनाथ गाउँपालिका – ६ की १५ वर्षीया जानकी पुन र १६ वर्षीय हीराबहादुर पुनले भागी विवाह गरे । कक्षा ९ मा अध्ययनरत जानकी किशोरी क्लबमा बसेर बालविवाहविरुद्ध जनचेतना फैलाउँदै आएकी थिइन् । तीन दिनपछि उनीहरुलाई प्रहरीको रोहबरमा परिवारको जिम्मा लगाइयो । गत असारमा बैजनाथ – की १५ वर्षीया बालिकाले आफूखसी बिहे गरिन् । त्यसको १५ दिनपछि घरमा किचलो सुरु भयो । बालविरोधी अभियन्ताले घरै पुगेर छुटाए । ती बालिका पनि बालक्लबमा सक्रिय थिइन् । बिहीबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ साउन ९ बिहीवार ०८:०४ मा प्रकाशित