
९ साउन, काठमाडौँ । ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’ अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ ।
तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमितरुपमा घच्घचाइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । विभागले मद्रास प्रिन्टर प्रालिमार्फत खरीद गर्न लागेको छ । प्रिन्टर चाँडो ल्याएर सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । उनले भने, “हामीले अझै पनि सकेसम्म चाँडो प्रिन्टर भित्र्याउन पहल गरिरहेका छौँ ।”
‘मास प्रिन्टर’ आएको झण्डै एक महीनापछि त्यसले नियमित काम शुरु गर्ने विभागले बताएको छ । महानिर्देशक दाहालले उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमितरुपमा सञ्चालनमा आउने बताए । ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाइ गर्ने रहेको छ ।
प्रिन्टरसँगै विभागले १० लाख कार्ड खरीद प्रक्रिया अघि बढाएको छ । उनले भने, “कार्ड र प्रिन्टर दुवै चाँडो ल्याएर अहिले भएको ढिलाइ हटाउने हाम्रो उद्देश्य हो ।”
विभागमा रहेको मुद्रण यन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाउन सकेका छनन् । विभागमा अहिले नौ वटा उपकरण रहेकामा तीमध्ये छ÷सात वटाले मात्रै नियमित काम गरिरहेका छन् ।
सरकारलाई बुझाउनु पर्ने राजश्व रकम तिरेको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ ।