९ साउन, सप्तरी । दुई दिनको अविरल वर्षाका कारण सप्तरीको खाँडो खोलामा आएको बाढीले बगाएका युवक अझै फेला परेनन् ।
सप्तरीको रुपनी गाउँपालिका–११ का मोहम्द सलामतका ३४ वर्षीय छोरा मोहम्द नसिर मियाँलाई खाँडो खोलाले बुधबार बगाएको थियो । बाढीले बगाएर खोलामा ल्याएको दाउरा निकाल्न खोज्दा पानीको भेलले मियाँलाई बगाएको थियो ।
त्यस्तै सोमबार कोशी पलारमा भैँसी चराउन गएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का ५५ वर्षीय बालेश्वर मुखिया पनि बेपत्ता भएका छन् । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ स्थित सप्तकोशी नदी पार गर्ने क्रममा उनी बेपत्ता भएका हुन् । बेपत्ता भएका मुखिया पनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।