
९ साउन, काठमाडौँ । व्यस्त दैनिकी, अस्वभाविक खानपिन तथा शारीरिक अभ्यास गर्न अल्छी गर्ने आम युवाको प्रवृत्ति बनेको छ । खाँदिएको जीवनशैलीका कारण विभिन्न प्रकारका रोग व्याधिले क्रमशः च्याप्दै लगेको बारे शायद कमैलाई मात्र थाहा होला । यस्ता प्रवृत्तिले नेपाली युवामा मात्र नभई विश्व समुदायलाई प्रभावित पारेको छ ।
दैनिक कार्यतालिका मिलाउन नसक्ने, सानोभन्दा सानो स्वास्थ्य समस्या देखिएपछि अस्पताल धाउन सहज मान्नेको सङ्ख्या पनि उत्तिकै छ । व्यस्त कार्यशैली, मानसिक तनाव, खानपानमा ध्यान दिन नसक्दा मानसिकरुपमा विक्षिप्त बन्नुपरेको पाइन्छ । कार्यालयमा सम्पादन गर्नुपर्ने कामका बारेमा कार्यालय समयपछि पनि चिन्ता लिनु, घर परिवारका बीचमा उल्लासपूर्ण वातावरण बनाउन नसक्नुलगायत कारणबाट मानसिकरुपमा ठूलो क्षति व्यहोर्नुपरेको छ ।
स्वदेश रहेकोभन्दा वैदेशिक रोजगारीमा गएका नेपालीमा झन् यस्ता समस्या व्यापकरुपमा देखिन्छ । कामको चाप तथा पारिवारिक बिछोडका कारण मानसिक तनावमा पर्ने र त्यसका कारण भौतिकरुपमा संसार छाड्नेसम्मका घटना भएको पाइन्छ । विदेशस्थित विभिन्न कम्पनी काम गर्ने नेपालीले तनाव व्यवस्थापन र कार्यतालिका अनुसारको जीवनयापन गर्न नसक्दा निकै ठूलो समस्या झेल्दै आएका छन् । झण्डै दुई दशकअघि वैदेशिक रोजगारीका क्रममा कतार पुगेका दीपक भेटवालको दैनिकी पनि निकै अस्तव्यस्त थियो । बिहानै उठ्ने बित्तिकै काम, खाने र सुत्नेको कुनै ठेगान थिएन, नेपालमा रहेका घर परिवारको चिन्तामा पनि यस्तैगरी उनको दैनिकी चल्दै थियो । मानसिक तनाव, अस्तव्यस्त जीवनशैलीका कारण विस्तारै मानसिक तथा शारीरिक समस्या देखिन थाल्यो । अस्पताल धाउने क्रम निकै समयसम्म चल्यो । दैनिक तीन÷चार टव््याबलेट औषधि खानुपर्ने अवस्था आइप¥यो ।

आधुनिक चिकित्सा विज्ञानले पत्ता लगाएका सम्पूर्ण चिकित्सकीय उपाय अवलम्बन गर्दा पनि समस्या ‘बीसको उन्नाइस’ भएन । चिकित्सा विज्ञानले सम्बोधन गर्न नसकेको स्वास्थ्य समस्या योग विज्ञानमार्फत समाधान हुन्छन् भन्नेबारेमा सामान्य जानकार भेटवालले त्यसपछि दैनिक योगाभ्यास शुरु गरे । निरन्तरको योगाभ्यास, योग साधना, आध्यात्मिक चिन्तन र सात्विक भोजनका कारण उनले आफ्नो स्वास्थ्यमा निखार ल्याउनुभयो । रोजगारीका क्रममै भेटवालले कतारमा योग विज्ञानका बारेमा जानकारी हासिल गरे । योगाभ्यासलाई निरन्तरता दिए र ‘ट्याब्लेट’को भरमा चलेको जिन्दगीलाई पुरानै अवस्थामा अवस्थामा फर्काउन सक्षम भए ।
यही चमत्कारिक सुधारबाट हौसिएका उनले कतारको रोजगारी त्यागेर सम्पूर्ण नेपाली नागरिकलाई शारिरिक र मानसिकरुपमा स्वास्थ्य राख्ने उद्देश्यले नेपालमै योग स्कूलको सञ्चालन गर्ने सोच बताए । सोही अनुसार भेटवालले योग विज्ञानको सिद्धान्तभित्र रहेर योगाभ्यास सिकाउन ‘नेपाल स्कूल अफ योग’ सञ्चालनमा ल्याएका हुन् । उक्त स्कूलको आज एक कार्यक्रमबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले उद्घाटन गरेका हुन् ।
अहिले पनि संसारभरका करीब एक अर्ब मानिस ‘हाइपरटेन्सन’को समस्याबाट ग्रस्त रहेको तथ्याङ्क भेटिन्छ । चिकित्सा विज्ञानका क्षेत्रमा अध्ययन अनुसन्धानका नाममा अर्बौं खर्च भएका छन् तर पनि सबै समस्याको पूर्ण समाधान हुन सकेका छैन ।
आफूलाई मानसिकरुपमा स्वस्थ्य राख्न योगाभ्यासमा लागेको स्मरण गर्दै भेटवालले चिकित्सा विज्ञानमा सम्भव नभएका समस्या योग विज्ञानका माध्यमबाट समाधान गर्न सकिने बताए । विगत दुई वर्षदेखि उहाँ योग विज्ञानको अध्ययन अनुसन्धानमा सक्रिय हुँदै आएका छन् । “योग विज्ञान र दर्शनको अध्ययन गरेपछि मात्र मैले योग विज्ञानको महत्व बुझेको हो”, नेपाल फर्केर भृकुटीमण्डपस्थित बाल्मीकि विद्यापीठमा योग विषय अध्ययन गरेका उनले भने ।

योग, दर्शन र आध्यत्मिक विषयमा गहिरो चिन्तन गर्दै आएका उनले विश्वभरका मानिसमा मुख्यतः दुई प्रकारका समस्या रहेको बताए । तनाव र मोटोपनबाट नै मुख्यरुपमा विश्वभरका मानिस प्रभावित भइरहेको उनको भनाइ थियो । चिकित्सा विज्ञानबाट सम्भव नभएका असाध्य रोग योगबाट नै समाधान हुनेमा उनी विश्वस्त भएका उनले भने, “मानिसको जीवन अनन्त संयोगको शृङ्खला हुँदो रहेछ ।”
भर्खरै योग स्कूल स्थापना गरी योग चेतना फैलाउन लागिपरेका उनले१० वर्षे दीर्घकालीन रणनीति अख्तियार गरेर अगाडि बढ्ने सोच बनाएका छन् । दश वर्षमा १०० वटा शाखा विस्तार, एक हजार योग शिक्षक उत्पादन र ५०० वटा विद्यालयमा योग शिक्षा दिने आफ्नै महत्वकाङ्क्षी योजना उनले अगाडि सारेका छन् ।
चिकित्सा विज्ञानको क्षेत्रमा राज्यले प्रशस्त लगानी गरे पनि योग तथा आयुर्वेद विज्ञानका क्षेत्रमा राज्यको आँखा नै नपुगेकाकाप्रति उनको गुनासो छ । “योग र आयुर्वेद पूर्वीय दर्शनमा आधारित भए पनि यसको महत्वका बारेमा थाहा पाउन नसक्नु विडम्बनायुक्त छ”, भेटवालले भने, “हाम्रो दर्शनका बारेमा पश्चिमाले अध्ययन अनुसन्धान गरेर फाइदा लिन थालिसके, हामी भर्खरै बुझ्दै छौँ ।”
पश्चिमा मुलुकले अहिले योग तथा आयुर्वेदमा लगानी बढाउँदै यसको अध्ययन अनुसन्धानमा ठूलो धनराशि खर्चन थालेका छन् । अहिले अमेरिकामा करीब छ हजार योग स्कूल र तीन करोड ५० लाखले दैनिक सक्रिय योगाभ्यास गर्ने गरेका छन् । स्कूलमा करीब ३० लाख लगानी गरिएको छ ।
योगाभ्यासको भूमिका महत्वपूर्ण : मन्त्री विष्ट
योग स्कूल उद्घाटनका क्रममा श्रममन्त्री गोकर्ण विष्टले सकारात्मक सोच र कल्याणकारी काम गर्ने बानीको विकास गर्न योगले सहयोग पु¥याउने उल्लेख गर्दै उनले आपराधिक मनोवृत्ति रोक्न पनि योगाभ्यासको महत्वपूर्ण भूमिका हुने बताए ।
अहिले पनि आफूले भ्याएसम्म योगाभ्यासलाई निरन्तरता दिँदै आएको र योगाभ्यासले आत्मविश्वास पैदा गर्नाका साथै मन र शरीरलाई नियन्त्रण गर्ने भएकाले सरकारले योगविज्ञानलाई प्राथमिकतामा राखेको उनले बताए । मन्त्री विष्टले विद्यालय तहका पाठ्यक्रममा योग विषयलाई समावेश गर्न शिक्षा मन्त्रालयले काम थालेको जानकारी दिए ।
नेपाल मेडिसिटी अस्पतालका न्यूरो सर्जन डा प्रकाश पौडेलले आफू चिकित्सा विज्ञानका क्षेत्रमा लागे पनि योगको महत्व र असाधारण फाइदा देखेर यसतर्फ लागेको बताए । ललितपुरको थसिखेलमा रहेको सो स्कूलमा योगगुरु शिव बस्याल ‘प्रेमानन्द’ र गुरु एकराजले नियमित रुपमा योगाभ्यास गराउनुहुनेछ । स्कूलमा विभिन्न प्रकारका योगाभ्यास गराइने योगगुरु प्रेमानन्दले जानकारी दिए ।