
भाग्यवादमा विस्वास गर्ने हो भने भाग्यले नै जुराएको हुन सक्छ चितवनका एकराज सुवेदीलाई सिसेल्स पुग्न । हुन त भाग्यवादमा विस्वास नगर्नेहरुले देशमा विभिन्न बाध्यता, विवशता र बेरोजगारीका कारण नेपाली बलिया पाखुरालाई विदेश जानु परेको कारण बताउँछन् । तर, त्यहि भाग्यवादमा विस्वास गर्ने हो भने, भाग्यकै कारण ‘म यहाँ आए र यहाँ पुगे, यति काम गरे र यस्तो प्रगति गरे’ भनेर सन्तुष्ट हुने धेरै मानिसहरु छन् ।
हुन त, हामी नेपाली यी दुवै कुरामा विस्वास पनि गर्छौं । सायद त्यहि भाग्यले नै तानेर हो की, यात फेरि साहसी नेपालीको कर्म नै भनौं चितवन रापती नगरपालिका वडा नं ३ झुरझुरे निवासी ४० वर्षीय एकराज सुवेदी (पवन) को भाग्य अफ्रिकी देश सिसेल्समा त्यसरी नै चम्किएको छ । सिसेल्सका बहादुर नागरिकले गर्न नसकेको काम उनले गरेर अफ्रिकी देश सिसेल्समा नेपाल र नेपालीको शान अनि मान राख्न सफल भएका छन् ।
सुवेदी २०५६ सालमा नेपाली सेनामा भर्ति भएका थिए । भैरबदल गणमा अमल्दारका रुपमा कार्यरत सुवेदी शान्ति सेना कंगोको ८ औं डफ्फा मिसन पूरा गरेर २०६५ सालमा सेनाको जागिरलाई उपदानमै बिट मारेका थिए ।
सन् २०१२ तिर छिटो अनि धेरै धन कमाउने सपनाले अन्य युवालाई जस्तै सुवेदीलाई पनि सताउन थाल्यो । त्यहि सपनालाई साकार पार्नका लागि सन् २०१२ मा पूर्वी अफ्रिकाको सिसेल्स पुगे सुवेदी । सिसेल्स पुगेर उनी प्रहरीमा जागिरे भए ।

धेरै पैसा कमाउने सपना बोकेर विदेश पुगेका युवाहरुले आफूले सोचेजस्तो धन कमाउने सपना पूरा हुँदैन । तर, सुवेदीलाई सिसेल्सले धन मात्र नभएर मान सम्मान पनि दिएको छ । तर, त्यो त्यसै पाएको सम्मान होइन, सुवेदीले आफ्नो ज्यानको बाजी थापेर ३५ सिसेल्सी नागरिकको ज्यान बचाएको कारण उनलाई उक्त सम्मान मिलेको हो ।
२०१४ मा सिसेल्स पब्लिक ट्रान्सपोर्ट कर्पोरेशन SPTC बसमा निजी कामको सिलसिलामा यात्रा गर्दै थिए । उक्त बसमा ३५ जना सवार थिए । बस उकालो बाटोमा गुडिरहेको थियो । यत्तिकैमा चालक गाडि रोकेर पसल तर्फ लागे । अचानक बस आफै ओरालो लाग्न थाल्यो ।
बसमा सवार सिसेल्सका नागरिक दुर्घटना हुन थाल्यो भनेर रुन कराउन थाले । त्यसमा यात्रु घाईते भए भने सुवेदी पनि अछुतो रहेनन् । तर, पनि उनले हिम्मत हारेनन् । सकि नसकी ड्राइभर बस्ने सिटमा पुगेर गाडीको स्टेरिङ समाएर गाडीलाई तत्काल नियन्त्रणमा लिएर आफूसहित ३५ जना सिसेल्स नागरिकको ज्यान जोगाए ।
सुवेदीले तत्कालै बुद्धि नलगाएको भए त्यहाँ ठूलो दुर्घटना हुन सक्थ्यो । तर, उनले आफ्नो बहादुरीपन देखाएर सबैको रक्षा गरे ।
सुवेदीको यस साहसिक कार्यको उच्च मूल्यांकन गर्दै सिसेल्स सरकारले सिसेल्स प्रहरी विभागका तर्फबाट र विभिन्न प्राइभेट क्षेत्रबाट सुवेदीलाई विभिन्न मेडल र नगद सहित उच्च सम्मान गरिएको थियो । सुवेदीको उक्त साहसिक कार्यको सिसेल्सका विभिन्न संचारमाध्यममाहरुले पनि खुब प्रसंसा गरेर लेखेका थिए ।
विदेशी भूमिमा रहेर पनि एकल र साहसिक कदमले बसका ३३ यात्रुको ज्यान सम्भावित दुर्घटनाबाट बचाएर नेपाल र नेपालीको राम्रो परिचय दिन सफल भएको भन्दै सुवेदीले संसारन्युजसँग खुसी व्यक्त गरे ।