बिहानी पखको शशांकको मिठो निद्रा मोबाइलको घण्टीले बिथोलिदिएको थियो । उस्ले बत्तीको बेडस्वीच अनगर्यो । तीन बजेर सात मिनेट गएको थियो । उस्ले कौतुहलताका साथ मोबाइल रिसिभ गर्यो ।
गर्लफ्रेण्ड निहारिकाको फोन थियो । फोनबाट बोझिलो आवाज आयो । ‘शशांक तिमी आराम छौ ? मैंले तिम्रो निद्रा बिथोलें माफ गर ल ! जरुरी भयो, तिमीलाई भेटेरै कुरा गर्न । उज्यालो हुन्जेल धैर्यगर्न सकिन । डिल्लीबजारको उकालोमा रहेको शान्ता दिदीको चियापसलमा बिहानै आउ न है ।’
एकोहोरो बोलिरहिन् र फोनको स्वीच अफ गरिन् । जवाफको प्रतीक्षा गरिनन् । किन हो ? फोनको आवाजले शशांकको अन्तर मन बेस्सरी हल्लाएको थियो ।
कलेजका जो कोही, उनीहरूको प्रेम सम्बन्धको विषयमा अनभिज्ञ थिएनन् । दुबै व्यवस्थापन संकायतर्फ अन्तिम बर्षमा अध्ययनरत जेहन्दार विद्यार्थी थिए ।
उनीहरू बिचमा तीन महिनादेखि सम्वाद बन्द थियो । पाँच महिना अगाडी शैक्षिक भ्रमणमा पोखरा गएको बेला निहारिकाले गरेको अन्तरङ्ग आग्रहलाई शशांकले नमानेपछि उनी रिसाएकी थिइन् भने प्रमोदसँग बढ्दै गएको शंकास्पद हिमचिमबाट शशांक चिढिएको थियो ।
बिहानै डिल्लीबजारको शान्ता दिदीको होटलको क्याबिनमा दुबैले भेट गरे । निहारिकाले शशांकको हातमा एउटा कागज थमाइन् र घोसेमुण्टो लगाएर निहुरिरहिन् । शशांकले कागजमा एकनजर दौडायो । उस्का हातखुट्टा लुला भएर थर्थराएका थिए । चिट्चिट पसिना आयो र रन्थनियो । जुरुक्क उठेर हिड्न लाग्यो ।
निहारिकाले शशांकको हात पक्डीन् र आँसुका बलिन्द्र धारा बगाइन् । प्रमोद दुई महिना अगाडी रेस्टिकेटमा परेदेखि नै लापता थियो । शशांकको शंका सहि प्रमाणित भएको थियो ।
शशांकले निहारिका प्रति एकैचोटि प्रेम, सहानुभूति र तिरस्कारको नजर हुत्यायो । ‘उस्को हातमा टिचिङ्ग हस्पिटलकी वरिष्ठ गाइनोकोलोजिष्ट डा. सरलाले जाँचेको निहारिकाको प्रेगिनेन्स रिपोर्ट थियो ।’
‘शशांक’ पृथ्वी भन्दा गरुङ्गो भारी टाउकोमा बोकेर होटलबाट सटासट निस्कियो ।
निहारिकाले चियाको बदला कैयौं घुट्का नुनिला आँसु घुट्क्याइन् । अनि क्याबिनको झ्यालको पर्दा सारेर शशांक ओझेल नहुन्जेलसम्म हेरिरहिन्..,हेरिरहिन्….।
[email protected]
वि.सं.२०७६ साउन ११ शनिवार ०९:४३ मा प्रकाशित