
स्वर्ण शृंगार हो बन्धु धनीका निम्ति आखिर
धनीको धन हो बन्धु आ- आफ्ना स्वार्थ खातिर
तुलना कसरी होला धातु फलामका सित
हतियार बने सारा राष्ट्र रक्षार्थका मित (१)
सुनले घरको छानो ढलान पुग्दथ्यो भने
विश्वभरि फलामैको रडै पो किन बिक्दथे ?
सुनको थालमा खाऊ भन्दैनन् किन डाक्टर ?
फलामे ताप्केको खाना स्वास्थ्यका लागि उत्तम (२)
सुनकै डेग्चिमा दाल भात पाक्ने भए यहाँ
फलाम “स्टिल”का भाँडा धनीले किन्दथे कहाँ ?
बिभिन्न रूप माटोका सहयोगी सधैं बरू
लगाई सुनका लाप्सा सप्रँदैन कुनै अरू (३)
देखाई सुनका खोस्टा मान्छे योग्य हुने भए
शिक्षार्थ विश्वमा थुप्रै कलेज किन खुल्दथे ?
सुनकै ध्यानमा लाग्दा मोक्ष प्राप्ति हुने भए
दरिद्री घरमा द्यौता दौडेर किन पुग्दथे ? (४)