१७ साउन, काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा विभिन्न कारणले रिक्त रहेका ५० पदको निर्वाचन मसिर १४ गते गर्ने भएको छ ।
निर्वाचन आयोगका साउन १६ गते बसेको बैठकले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन पश्चात विभिन्न कारणले रिक्त रहेका उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका तथा गाउँपालिका वडा अध्यक्ष र प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्यहरुको उपनिर्वाचन मंसिर १४ गते गर्ने निर्णय गरेको हो ।
स्थानीय तह ऐन, २०७३ बमोजिम स्थानीय तहको उपपनर्वाचनको मिति निर्वाचन आयोगको ऐन, २०७४ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यको उपनिर्वाचनको मिति राजनीतिक दल र सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरेर तोकेको हो ।
आयोगका अनुसार देशका ३७ जिल्लामा रिक्त रहेका पदहरुमा उपमहानरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिकाका वडा अध्यक्ष ४१, प्रदेशसभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य १ गरी कूल ५० पदको लागि उपनिर्वाचन हुने निर्वाचन आयोगका पवक्ता शंकर प्रसाद खरेलले जानकारी दिएका छन् ।