फुल्ने रहर गरेका हुन्छन् सबै कलीले,
थाहा छ, लुट्नु लुट्छन् भमरा र माहुरीले ।
ढाँटेर वा लुटेरै पनि गर्छ स्वार्थ पूर्ति,
आफन्त वा पराया भन्दैन मतलबीले ।
यो के गर्यौ, मलाई लाग्यो अचम्म साथी !
अनुहारमा छ मैलो ऐना पुछ्यौ तिमीले ।
खोला, कुला, कुलेसा, झर्ना सबै सँगै छन्,
साथै लिएर बग्छु भन्दै थियो नदीले ।
यो सृष्टि बुझ्नलाई पर्याप्त छैन आयु,
नलिई हुँदैन एकदिन अवकाश जिन्दगीले ।
तिम्रो इमानदारी लाग्दैन काम भाइ !
नेता प्रसन्न हुन्छन् दिनरात चाकडीले ।
सहयोगी हात पाऊन्, झुपडीहरू रमाऊन् ,
भगवान् खुसी हुँदैनन् पूजा र आरतीले ।
मुजारे बहर,
गजल गैरमुरद्दफ
ईले–काफिया