२१ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले शक्तिशाली मुलुक शान्तिको पक्षमा अगाडि बढेमात्र विश्वमा शान्ति कायम गर्न सकिने बताएका छन् ।
‘अफ्रो–एशियन पिपुल्स सोलिडारिटी अर्गनाइजेशन अफ नेपाल’ले आज यहाँ आयोजना गरेको ‘७४औँ हिरोसिमा–नागाशाकी स्मृति दिवस’ को अवसरमा उनले शक्तिशाली मुलुकले शान्तिको पक्षमा अगाडि नबढेसम्म नेपालजस्तो मुलुकले शान्तिका पक्षमा उठाएको आवाजलाई प्रभावकारी रुपमा लैजान नसकिने बताए । अन्तर्राष्ट्रिय मञ्चमा नेपाल शान्तिका पक्षमा पक्षपोषण गर्ने मुलुक रहेको भन्दै नेता नेपालले नेपालको शान्ति प्रक्रियाका बारेमा अन्य देशले पनि सिक्नुपर्ने बताए ।
विज्ञानको विकासले विश्वलाई विध्वङ्सतर्फ नभई मानव जातिको हितको रुपमा प्रयोग गर्नुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ थियो । “आणविक अस्त्रको दुरुपयोग नभई सुदपयोग गरेर विश्वको विकास गर्नुपर्दछ”, उनले भने, “आणविक अस्त्र विश्वलाई ध्वस्त पार्न नभई मानव अस्तित्वको रक्षाका लागि प्रयोग गर्नुपर्दछ ।” उनले हिरोसिमा र नागासाकीमा भएको घटना विश्वका लागि दुःखदायी र पीडादायी भएकाले त्यस्ता घटनातर्फ अब कोही उन्मुख नभई विश्वलाई शान्ति, विकास र जनचेतना जगाउनुपर्नेमा जोड दिए ।
छिमेकमा रहेको आणविक अस्त्रका कारण नेपाल पनि जोखिम रहेको उल्लेख गर्दै नेता नेपालले यस्तो जोखिमबाट बच्न आवाजलाई बुलन्द पार्नुपर्ने धारणा राखे । विध्वङ्स, मानव समुदायको अस्तित्वलाई नामेट पार्ने, मानिसलाई पीडा थोपारेर होइन शान्ति र आनन्दको जीवन जिउने सन्देश विश्वभर फैलाउनुपर्ने उनको भनाइ थियो ।
“असंलग्न परराष्ट्र नीतिको भावनालाई अनुशरण गर्दै कुनै पनि शक्तिको पक्षमा नरहेर तथस्ट रहँदै मानव कल्याणको पक्षमा लाग्नुपर्दछ”, उनले भने, “पीडालाई सम्झेर पीडाबाट मुक्त हुनका लागि तटस्थ विधि अवलम्बन गर्नुपर्दछ ।” हिरोसिमा–नागासाकी स्मृति दिवसको दिन नेपालीले विभिन्न कार्यक्रम गरेर र कुनै बेला जापानमा प्रतिनिधि पठाएर घटनामा ज्यान गुमाएकाको सम्झना गर्ने गरिएको उनको धारणा थियो ।
नेपाल भ्रमण वर्षमा २० लाख पर्यटकलाई भित्र्याएर नेपालको अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने नेता नेपालले बताए । “पर्यटकलाई नेपालमा ल्याउने मात्र नभई नेपालबाट केही सिक्ने गरी प्रेरित भएर जाने वातावरण बनाउनुपर्दछ”, उनले भने, “पर्यटक आउने जाने क्रम चलिरहन्छ । नेपालमा आएर उनीहरुले के सिकेर गए भन्ने कुरा महत्वपूर्ण हो ।” अफ्रिका, एशिया र ल्याटिन अमेरिकाले नेपाललाई शान्ति भूमिको रुपमा चिन्ने गरेको उनले बताए ।
कार्यक्रममा अर्गनाइजेशनका अध्यक्ष हीरण्यलाल श्रेष्ठले भारत, चीन र पाकिस्तानमा भएको आणविक अस्त्रका कारण नेपाल जोखिममा रहेको बताए । उनले नेपालमा आणविक अस्त्र अध्ययन केन्द्र बनाउन आवश्यक रहेको भन्दै एशिया आणविक अस्त्ररहित बनाउनुपर्नेमा जोड दिए । त्रिभुवन विश्वविद्यालय रसायन शास्त्रका प्राध्यापक डा मोतिलाल शर्माले छिमेकी देशमा आणविक अस्त्र रहेकाले नेपाल जोखिममा रहेको बताए । उनले हिरोसिमा र नागासाकीमा भएको आणविक अस्त्रले अहिले पनि त्यहाँका मानिसमा विभिन्न असर देखिएको बताए ।
सन् १९४५ अगस्त ६ तारिखका दिन जापानको हिरोसिमामा ‘लिटल म्यान’ र अगस्त ९ तारिखमा नागासाकीमा ‘फ्याट ब्याई’ नामक एमट बम खसालिएको थियो । उक्त घटनामा करीब साढे तीन लाख व्यक्तिले ज्यान गुमाउनु परेको थियो । अर्गनाइजेशनका महासचिव गोपाल पोखरेलले विश्वमा हिरोसिमा र नागासाकीमा जस्तो घटना नदोहोरियोस् भन्नका लागि विश्वभरि नै संस्थाले कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिए । (रासस)
वि.सं.२०७६ साउन २१ मंगलवार २०:५२ मा प्रकाशित



























