७ मंसिर, बेइजिङ (चीन) । । संयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव एन्टोनिओ गुटेर्रेसले नोभेम्बर अन्त्यमा चीन सरकारको निमन्त्रणामा दुईदिने भ्रमणका लागि बेइजिङ आउनु हुनेभएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले गुटेर्रेसको चीन भ्रमणबारे सञ्चारमाध्यमसँगको नियमित कुराकानीका क्रममा सोमबार जानकारी गराउनुभयो ।
उहाँले गुटेर्रेसको चीन भ्रमणलाई बेइजिङले विशेष महत्वका साथ लिएको बताउनुभयो ।
गुटेर्रेस चीनमा रहँदा चिनियाँ उच्च नेतृत्व, विदेशमन्त्री वाङ यी लगायतका अधिकारीसँग भेट गर्नुहुनेछ ।
यसबारे विशेष तयारी भइरहेको र छिट्टै सम्पूर्ण कार्यक्रम सार्वजनिक हुने गेङले बताउनुभयो ।
भेटका क्रममा चीन र गुटेर्रेसबीच समसामयिक अन्तर्राष्ट्रिय अवस्था, संयुक्त राष्ट्रसङ्घका भावी कार्यक्रम, चीन–संयुक्त राष्ट्रसङ्घ सहकार्यलगायतका आम चासोका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा छलफल हुने प्रवक्ता गेङले बताउनुभयो ।
चीनले गुटेर्रेसको बेइजिङ भ्रमणले राष्ट्रसङ्घ र चीनबीचको पारस्परिक विश्वास र भविष्यका कार्ययोजनालाई योजनाबद्ध गर्ने गेङले जानकारी दिनुभयो । सिन्ह्वा
वि.सं.२०७३ मंसिर ७ मंगलवार ०३:३५ मा प्रकाशित