भवन अमल पारी पाहुना डाक्नुपर्छ
भजन असललाई ध्यानमा राख्नुपर्छ
भुवनभगवतीमा भावना भर्नुपर्छ
भुजगशयनलाई प्रेमले पुज्नुपर्छ ।।१।।
अभिनव कवितामा प्रेरणा छर्नुपर्छ
अतिथिसदनलाई स्नेहले साँच्नुपर्छ
अमरअजरलाई मानले ढोग्नुपर्छ
अशुभ असुरलाई अग्निमा झोस्नुपर्छ ।।२।।
घर सुखद बनाई साधना गर्नुपर्छ
घृणित दनुजलाई भीरमा फाल्नुपर्छ ।
घुलमिल जनताको भावले सोच्नुपर्छ
घचमच दुःख खप्तै जिन्दगी छोड्नुपर्छ ।।३।।
धवल सगरमाथा बुद्धिले चढ्नुपर्छ
धनिकधरणिलाई धर्मले धान्नुपर्छ ।
धृति नियम समाई सिद्धिले बाँच्नुपर्छ
धनतनमनलाई गेहमा गाभ्नुपर्छ ।।४।।
त्रिभुवनपतिलाई भक्तिले जप्नुपर्छ
त्रिनयनशिवलाई योगले बुझ्नुपर्छ ।
त्रिभुवनपथलाई भावले भोग्नुपर्छ
त्रिमुनिसुजनलाई चित्तले चिन्नुपर्छ ।।५।।
सुललित पद पारी काव्यकोशी बगाऔं
सुभग समझ राखी छन्दविद्या बढाऔं
सरल मति समेटी शारदामा चढाऔं
सबल सदन पाई अम्बलाई सघाऔं ।।६।।
मालिनी छन्द
ठेगाना-बत्तीसपुतली,काठमाण्डू, नेपाल
हाल–प्रतिष्ठानिकेतन, नटिङ्हाम् पथ, सिडर्हिल्, टेक्सस्, संयुक्तराज्य अमेरिका
वि.सं.२०७६ साउन २५ शनिवार ०८:५० मा प्रकाशित




























