२९ साउन, काठमाडौं । काठमाडौं, रौतहट, सप्तरी, बर्दिया र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका- १६ बनस्थलीस्थित सडकमा ना.४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ललितपुर ईमाडोल ४ बस्ने उद्धव सुनाम नेपालीको पिपुल्स अस्पताल नयाँबजारमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै रौतहट, राजपुर नगरपालिका- २ फतवास्थित सडकमा मंगलबार दिउँसो बिआर ३२ पिए १५४१ नम्बरको स्कारपियो गाडीको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री भारत सितामढी ग्राम पञ्चायत पोरहीका बिन्देश्वर दासको गौर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सप्तरी, बोदेबरसाइन नगरपालिका- ७ स्थित सडकमा अनटेस्ट लेखिएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री अन्दाजी ७० वर्षीय फगुनी दासको उपचारको लागि लैजाने क्रममा मंगलबार दिउँसो बाटोमै मृत्यु भएको छ । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै बर्दिया, बासगढी नगरपालिका -६ सतरिया भन्ने स्थानमा भे.२ प ७४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका ५ पानीट्याङकीका खेमलाल सुबेदीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच रुपन्देही, तिलोत्तमा नगरपालिका- १३ स्थित सडकमा लु.१ च ३२४६ नम्बरको बलेरो गाडीले सडक छेउमा बसिरहेको अवस्थामा ठक्कर दिँदा गम्भीर घाइते भएका सोही नगरपालिका १५ बस्ने बसन्त थापाको बुधबार बिहान क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ । छ ।
वि.सं.२०७६ साउन २९ बुधवार १३:१८ मा प्रकाशित




























