४ भाद्र, काठमाण्डौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छन् ।
गत विहिबार देखि चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेकी पत्नी पौडेलले चितवनका एसपी दान बहादुर मल्ल, जनआस्था साप्ताकिका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाईनका सम्पादक संकेत कोइरालाविरुद्ध पौडेलले बुधबार महानगरीय प्रहरी परिसर काठमाण्डौमा आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै उजुरी दिएकी हुन् ।
पौडेलका अधिवक्ता राजेन्द्र सेढाइका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार पौडेलले जाहेरी दिएकी हुन् ।
माउन्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार पुडासैनी नारायणगढको वसपार्कस्थित होटल कंगारुमा साउन २० गते झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले झुण्डिनु पूर्व गरिएको भिडियो रेर्कडमा न्युज २४ मा सिधा कुरा ‘जनतासँग’का कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार युवराज कंडेल र ओखलढुंगाकी नर्स अस्मिता कार्कीका कारण आफू मर्न बाध्य भएको बताएका थिए । सोहि आधारमा प्रहरीले आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा तीनैजनालाई चितवन तथा काठमाण्डौंको प्रहरी टोलीले विहिबार पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
वि.सं.२०७६ भदौ ४ बुधवार १४:२२ मा प्रकाशित