
घरदेखि टाढा
अर्थात्
आमाको न्यानो हातको
स्वादिलो खाना देखि कोशौ टाढा !
सम्झाउने बारुली
अनि
मेरो मिठासे जिब्रोलाई
स्वाद्को भुमरीमा
घुमाउने तितो भोकको आवाज
घरदेखि टाढा भनेको के हो ?
यो त यहि मिठासे जिब्रोलाई थाहा छ ।
घर केवल
घर मात्र होइन
यो त संस्कारको भण्डार हो
जहा संस्कृतिले जिवित हुनको
अर्थ पाउछ र पाउँछन्
सम्बन्धले एक–अर्कामा गाँसिएको
अटुट बन्धनको रहस्य ।
अनि यो घरदेखि टाढा भनेको
यी अर्थहरु देखि
अलिकति ओझेल हुनु
यी रहस्यहरु देखि
नदेख्ने गरि फरक हुनु ।
घरदेखी टाढाको अर्थ त
उनीहरुलाई सोध्नुहोस्
जो भूगोलका
यी नक्साहरुमा कोरिएको
लामो लक्ष्मणरेखामा उभिन परेका छन्
र
धरतीको रक्षा निम्ति
उसैमा सिमा बाध्न बाध्य बनेका छन्
मानवता र देशभक्ति बिच युद्ध गराउँदै
जीवन र मृत्युको भेद
औजारसँग साटासाट गर्दै ।
वि.सं.२०७६ भदौ ७ शनिवार ०९:३३ मा प्रकाशित