back

कविता : म अमेरिकाबाट किन फर्किएँ !

वि.सं.२०७६ भदौ ७ शनिवार

246 

shares
RBB AD
NTC AD

त्यहाँ देख्न पाइन्न कोही हिंडेको,
जथाभाबि संसाझ मान्छे गिंडेको ।
यहाँझैं धुलो सुघ्न पाइन्न लेश
म फर्केर आएँ त्यसैले स्वदेश ।

कुहेको सडेको छुनै हुन्न जान
न सप्र्याङ पारेर नै हुन्छ खान–
भने के गरी खानु मैले भनेर
म फर्केर आएँ तुरुन्तै स्वदेश ।

त्यहाँ प्यून धोक्न पाइन्छ, पाइन्न मात्न
जथाभावि पाइन्न स्वास्नी समात्न ।
त्यही लोकतन्त्रे खडेरी बुझेर,
म फर्केर आएँ तुरुन्तै स्वदेश ।

न नारा उरालेर सातो लगार्छन्,
न गाडी डढाई त्यहाँ भस्म पार्छन् ।
बुझें क्रान्तिमा देश रित्तो रहेछ,
त्यसैले म फर्कें तुरुन्तै स्वदेश ।

त्यहाँ पढ्दछन् शास्त्रभित्रै डुबेर,
त्यसैले ठगी कार्य साफै रहेछ ।
यतै ज्ञान पाइन्छ चोरी गरेर
भनी फर्किएँ झट्ट प्यारो स्वदेश ।

त्यहाँ आँसु झार्ने कुनै हुन्न गोही,
घुस्याहा भुस्याहा छँदैछैन कोही ।
सबै देश खाने यतै छन् भनेर
म फर्केर आएँ तुरुन्तै स्वदेश ।

त्यहाँ भोटमा नोट साटिन्न रैछ,
जहाँ ढाँटको खेत रोपिन्न रैछ ।
यतै यी कुरा गर्न मिल्ने भएर
म फर्केर आएँ तुरुन्तै स्वदेश ।

मिसेको दुई नम्बरी वस्तु मिल्छ ?
भनी सोधियो खोजियो यत्रतत्र
नपाए पछि व्यग्र सारै भएर
म फर्केर आएँ तुरुन्तै स्वदेश ।

न ता लड्न पाइन्छ त्यो देश भित्र,
इराकै पुगी भिड्नु पर्ने विचित्र ।
घरैभित्र लड्ने र भिड्ने यतै छ
भनी फर्किएँ झट्ट प्यारो स्वदेश ।

छ बत्ती बलेको अहोरात्र नित्य,
दिवा सूर्यझैं निभ्न जान्दैन सत्य ।
पटक्कै अँध्यारो त्यहाँ हुन्न रैछ
त्यसैले म फर्कें तुरुन्तै स्वदेश ।

त्यहाँ हुन्न खाई अघाई डकार्न,
न पाइन्छ इच्छानुसारै खकार्न ।
कता छाड्नु संस्कार आफ्नो भनेर
म फर्केर आएँ तुरुन्तै स्वदेश ।

त्यहाँ हुन्न बच्चा ससाना हकार्न,
कडा रैछ बन्देज स्वास्नी भकुर्न ।
त्यसैले प्रजातन्त्र एतै रहेछ
त्यसैले प्रजातन्त्र नेपालमैं छ
भनी फर्किएँ झट्ट प्यारो स्वदेश ।

कदाचित् त्यहाँ बन्धुको घात हुन्न
यहाँझैं अनेकौ जहाँ जात हुन्न ।
यतै जातिको युद्ध बढ्दैछ धेर
भनी फर्किएँ झट्ट प्यारो स्वदेश ।

फुटानी लडाएर केही कथुर्ने
अरूको सबै भाग आफैं हसुर्ने–
प्रथाको खडेरी परेको बुझेर
म फर्केर आएँ तुरुन्तै स्वदेश ।

त्यहाँ खान पाइन्न सिन्की र ढिंडो
न ता धानको भातले थाम्छ बींडो
पिजाले गिजा सुन्निएला भनेर
म फर्केर आएँ युएसए पुगेर ।

न जाँतो न ढिक्की न लिप्ने न पोत्ने
पटक्कै त्यहाँ गर्नु पर्दैन रैछ
बुहारीहरू बिग्रिएलान् भनेर
म फर्केर आएँ तुरुन्तै स्वदेश ।

त्यहाँ एक लोग्ने प्रथा लागु छैन,
चितायो बितायो कसैले छुदैन ।
मलाई त्यही रोग सर्ला भनेर,
म फर्केर आएँ तुरुन्तै स्वदेश ।

यता हेर्छु जोरै परेवा घुमेका,
उता हेर्छु त्यस्तै चखेवा चुमेका ।
म एक्लो नमिल्ने बिजोडी भएर
नसक्ने भएँ बस्न, आएँ फिरेर ।

नयाँ माल चाखेर किन्दा रहेछन्,
छिटै वाक्क मानेर फाल्दा रहेछन् ।
पुरानै कुरा टिक्छ धेरै भनेर
म फर्केर आएँ तुरुन्तै स्वदेश ।

असाध्यै त्यहाँ वस्तु छाडा रहेछन्
खुलेआम बाली हसुर्दा रहेछन्
यतै जोगिएला कि बाली भनेर
म फर्केर आएँ लगत्तै स्वदेश ।

बतासे फुलैबाट निस्कन्छ चल्ला
त्यसैको त्यहाँ हुन्छ हल्ला र खल्ला
न ता पर्छ कोरल्न ओथ्रा बसेर,
त्यसैले म फर्कें तुरुन्तै स्वदेश ।

त्यहाँ श्रीमती श्रीमती साट्न मिल्छ÷ डलर्मा
जथाभाबि गाला त्यहाँ चाट्न मिल्छ
बसूँ के गरी बन्द आँखा गरेर
भनी फर्किएँ झट्ट प्यारो स्वदेश ।

नपुग्ने सधैँ किन्न चोलो र साडी,
त्यसैले त्यहाँ किन्नुपर्ने कवाडी ।
नयाँ किन्न सक्ने हुती शून्य रैछ,
म फर्केर आएँ त्यसैले स्वदेश ।

कतै देख्छु नारी लँगौटी कसेका
कतै कट्टु मात्रै लगाई बसेका
धनी देश भन्ने गफै मात्र रैछ
म फर्केर आएँ त्यसैले स्वदेश ।

वि.सं.२०७६ भदौ ७ शनिवार ०९:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
साहित्यकार रिजालको एकल कविता वाचन सम्पन्न

साहित्यकार रिजालको एकल कविता वाचन सम्पन्न

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित एकल कवितावाचन...

कविता : दरबार बाहिरको राजा

कविता : दरबार बाहिरको राजा

उदय अतीत (स्याङ्जा) सिंहासन छैन, तर आत्मा विशाल छ, मुकुट...

समय, पात्र र सत्य, सत्ता सङ्घर्ष

समय, पात्र र सत्य, सत्ता सङ्घर्ष

नेपालमा लोकतन्त्र भन्ने शब्द २०६२/०६३ को जनआन्दोलनसँग जोडिएर बढी प्रयोगमा...

कविता : पत्नी विनाको घर

कविता : पत्नी विनाको घर

कल्पना अधिकारी भट्टराई, काठमाडौं झुक्याएर भइन् तिरोहित प्रिया एक्लो भयो...

सुसेली

सुसेली

डा. ठाकुर मोहन श्रेष्ठ,काठमाडौं  हाम्रा सौरभ सहासिक गोर्खाली साझा गौरब...

कविता : खुम्रे कीराजस्तो

कविता : खुम्रे कीराजस्तो

निम्बतरु, अर्घाखाँची चाहिने जो जिन्दगीमा के छ ? भएभरको सप्पै...