८ भदौ, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले जन्मदिनको अवसरमा वृक्षरोपण गर्ने परिपाटीको थालनी गर्नुपर्ने बताएका छन् ।
“जन्मदिनमा केक काट्ने मात्र नभई अब वृक्षरोपण गर्ने संस्कारको विकास गर्नुपर्छ”, काठमाडौँ क्षेत्र नं ५ टुसालमा उद्यानको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “खुला ठाउँमा भइरहेका अतिक्रमण रोक्न सरकारले कठोर कदमचाल्न पछि पर्दैन् ।” “सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको दायित्व हो”, उनले भने, “सार्वजनिक स्थान, सडकको छेउछाउमा रुख बिरुवा रोपी वातावरणलाई स्वच्छ र हराभरा बनाउन जरुरी छ ।”
रक्षामन्त्री समेत रहेका कार्यवाहक प्रधानमन्त्री पोखरेलले भूकम्पले खुला ठाउँको आवश्यकता महसुस गराए पनि सार्वजनिक जग्गा हडप्ने सोच हटि नसकेको बताए । उनले विकास निर्माणका कार्यलाई मानिसको भावना र मनसँग जोड्न नसके प्रभावकारी हुन नसक्ने दाबी गरे । “प्रत्येक योजनामा सरोकारवालाको संलग्नता हुनुपर्दछ”, उनले भने, “विकासका योजनाप्रति स्वामित्व बोध भयो भने प्रभावकारिता बढ्छ ।” उनले राजनीतिमा प्रतिस्पर्धा भए पनि विकास निर्माणमा सबै पार्टी हातेमालो गर्नुपर्नेमा जोड दिए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सङ्घीयताको भावनाअनुरुप विकास निर्माणका कार्यलाई अघि बढाउनुपर्ने बताए । “सङ्घ, प्रदेश र स्थानीय तहबाट आवश्यकताअनुसार बजेट माग गर्नुपर्छ”, उनले भने, “विकासमा स्वच्छ प्रतिस्पर्धा हुन आवश्यक छ ।” प्रमुख शाक्यले ट्राफिक जाम, धुलो धुँवा प्रदूषण कम गर्नका लागि विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने योजना महानगरपालिकाको छ भन्दै भिजिट नेपाल शुरु हुनुभन्दाअघि सडकको स्तरोन्नति र सरसफाइका क्षेत्रमा विभिन्न कार्य सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेशसभा सदस्य नारायण सिलवालले काठमाडौँका विभिन्न क्षेत्रलाई हरियाली बनाउने कार्यको थालनी गरिएको भन्दै यो वर्ष धेरै योजना सम्पन्न गर्ने बताए ।
अर्का प्रदेशसभा सदस्य सीता अधिकारीले नागरिकको मन जित्ने गरी विकास निर्माणका कामलाई तीव्रता दिइएको उल्लेख गर्दै सबैको सहयोग लिँदै मुलुकलाई समृद्ध बनाउने बताए ।
वडा अध्यक्ष मोहनबहादुर विष्टले ३८ लाखको लागतमा दुई रोपनी तीन आना जग्गामा उद्यान निर्माण गरेको जानकारी दिए । उनले उद्यान निर्माणका लागि प्रदेश निर्वाचन पूर्वाधार विकास कोषबाट बजेट विनियोजन भएको जानकारी दिए । (रासस)
वि.सं.२०७६ भदौ ८ आइतवार ०९:३९ मा प्रकाशित