नेपालका नयाँ नयाँ कानुनहरूको मनसाय र अक्षर हेर्दा नेपालीहरू सबै अपराधी हुन् र तिनलाई लामो जेल कोचेर वा हदैसम्मको दण्डित गरेर मात्र समाज चल्छ भन्ने सोचको राक्षसी मुलुक बन्ने दिशामा लागेको प्रतीत हुदैछ । लाग्छ मुलुक तीब्र गतिमा पागलखाना बन्दैछ, यस्तो समाजमा शान्ति अमनचैन र समृद्धि संभव हुदैन ।
समाजलाई आदर्श वनाउने, मुल् तथा मान्यतालाई झन् समृद्ध बनाउने, सामाजिक सद्भाव विकसित गर्दै सहिष्णु समाज बनाउदै लैजाने, अमनचयन कायम गर्न पो कानुनले टेवा दिनुपर्ने होस् सबै नेपालीहरू डाका, चोर, अपराधी, लुटेरा वा भ्रष्ट हुन् र तिनलाई कडा कानुन बनाएर तिनै भ्रष्ट अधिकारी र फटाहा कानुनचीहरुको हातमा अधिकार थोपरेर समाजको उत्थान हुन्छ भनी लाग्नु उँधो बगाएर उँभो खोजे जस्तो हो ।
मुलुक अपराधीहरूको स्वर्ग भएझैं पो हुन थाल्यो– कानुनका मर्म र अक्षरको आशय र लक्ष बुझ्दा ! आदर्श समाजमा चिन्तन गर्नेहरू जागरूक हुनैपर्छ नत्र यो मुलुक कुनै सक्षम, असल, योग्य मानिस बस्न लायक हुने छैन, नर्क बन्ने छ ! अरूलाई खाने बाघले आफूलाई पनि खान्छ हैँ !
ईमान्दार प्रहरी, प्रशासन तथा न्यायप्रणालीरहित र जहाँ तही घूसखोरी र राजनीतिक रिसईवि साध्न प्रशासन पुलिसको दुरूपयोग गर्ने, अपराधीको पनि पक्षपोषण गर्न छुटाउन सांसदनै पुलिस कार्यालयमा पुगेर दबाब दिने, बिपक्षी र मत नमिल्नेलाई धूलो चटाउने परपीडक राजनीतिक संस्कारको रोगले थलिएको वर्तमान नेपाली समाजमा गत भदौ १ देखि कडाकडा दफासहितको नयाँ मुलुकी संहिता कानुनहरू लागू गरिएको छ । यसले कति जनाको अब बाउको बिहे देख्ने हुन् हेर्दै जानुपर्नेछ ।
नागरिक समाजले संविधानमा रहेको मौलिक अधिकारको संरक्षणका लागि अब पुन ः बलिदानी आन्दोलन गर्ने समय आईसकेको छ । कानुन कडा बनाईदा त्यसको सुस्वादी फल खान सेवच्छ प्रशासन, विवेकी न्यायाधीश , छरितो न्यायप्रणाली, पेशा–ईमानी प्रहरी, जनताको सम्मान, संविधानको रक्षामा मरिमेट्ने पदाधिकारीको दरकार अपरिहार्य हुने गर्छ । अन्यथा यसबाट नर्कको यात्राको सुरूवात हुनेछ, हैरानी र दुःख त छदै छ, त्यसमाथि मुद्दा थेग्दा थेग्दा घरखेत जाने दिन पनि आउन सक्ने छ !
पोहर साल यही महिनामा एकजना सरकारी सुब्बालाई अरूले बनाएको प्रधानमन्त्रीप्रति कटाक्ष गरिएको कार्टून फेसबुकमा शेयर गरेको आरोपमा साईबर अपराधमा थुनामा राखी १ वर्ष कैद र ५ लाख जरिवाना मागगरी प्रहरीबाट मुद्दा चलाएको समाचार आएको हो । यस्ता सयकडौं घटना अब दिनहुँ आई रहने छन् किनभने सही गलत जस्तो कानुन बनेपछि, जसलाई जे परे परोस, त्यसको अक्षरश : पालना जसरी पनि गराउनु पुलिस–प्रशासनको काम हुन्छ । र, कानुनची समाज, जेमा पनि मुद्दा हाल्ने वकीलहरूको बिगबिगी, नेपालका पुलिस प्रशासनको कार्यकुशलता, ईमान, अवस्था र क्षमता हामी सबैलाई ज्ञात नै छ ।
सुप्रशिद्ध कानुनविद मोहन बन्जाडे लेख्छन्, ‘अहिले नेपालको कानुन तथा न्याय पद्धति र यसको इतिहासमा उल्लेख भएका कुरा बिर्साउने चेष्टा भएका छन् । नेपाल कानुनका जरोकिलोको रूपमा रहेका शास्त्रमा उल्लिखित विषयलाई बेवास्ता गर्न समानान्तर कुराका लागि प्रशस्त लगानी भएको छ । केही वर्षयता विदेशी कानुन अनुवाद गरेर सार्ने र विदेशीका इसारामा नीति र पाठ्यक्रम बनाउने चलन बढेको छ । त्यसो गर्नु दुवैतर्फका लोभीपापीको लाभकारी धन्धा बन्दैछ । कम से कम हाम्रो व्यवस्था अरूसँग मिलेकोमा हाम्रा पूर्वजले उताका कानुन सारेको अर्थ दिनेगरी छाता खोज्दै नकुदौँ । हाम्रा पुर्खा अहिले जस्तो इमान धर्म बेचेर कानुन लेख्दैनथे । आफ्नै बुता र बर्कतअनुसार आफ्नै समाजभित्रबाट आफैँले कानुन लेख्थे । कम्तीमा यो तथ्य बंगाउन इमान धर्म नबेचौँ ।’
पश्चिमाहरू जब आफूभित्र उद्धेलन वा असमन्जसको अवस्थामा पाउछन्, ती बाईबलको अध्ययन चिन्तनमा लाग्छन् र शान्ति भेट्छन् । मध्यपूर्व र पश्चिम एशियाका ईस्लाम मुलुकका जनता कुरान अध्ययन गर्न तिर घोत्लिन्छन् र मनलाई स्थीर पार्छन् । भारतीयहरू गीता, पुराण, रामायण तिर फर्केर चिन्तन मनन गर्न थाल्छन् र मनलाई ढाडस दिन्छन् । त्यस्तै शिखहरू गुरूग्रन्थको समिपमा जान्छन्, पारसीहरू जेनअवेस्ता, बुद्धमार्गीहरू धम्मपद, जैनहरू अगमलाई आत्मसात गर्छन् । तर, नेपालीहरूले भत्काई उखेली आफ्ना सारा समृद्ध मौलिक आस्था धरोहर, धर्म, संस्कृति, संस्कृत भाषा र सभ्यताका कुनै आधार बाँकी नराखेकाले यी अन्तत : अवसादमा मर्न बाध्य हुन्छन् । आस्थाहिन मानिसको जिवन अवसादपूर्ण हुन्छ !
जग जरो र परम्पराबिमूख कानुनको धराप डरलाग्दो देखिदै छ । कानुन लागू भएको १ वर्षमै आत्महत्या दुरूत्साहनमा १३१ मुद्दा परेर अधिकाँश जेलमा सडिरहेका र बाँकी थुनामा राखी मु्द्दा खेप्दैछन् । पारपाचुके केटीकेटीको गुच्चा खेल भएको छ । बलात्कारको आरोप, साईबर आरोपमा जसलाई पायो थुन्ने थुनाउने र धुत्ने खेति मौलाईसकेको छ । नयाँ कानुनहरूको चर्तिकलाले समाज बिखण्डन र अपराधी जनता बसोबास गर्ने मुलुकमा नामांकन हुने तिब्र रफ्तार देखिदैछ ।
माकुरी पर्यो कानुनी जालैमा…!
उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन्
वि.सं.२०७६ भदौ १० मंगलवार १५:५४ मा प्रकाशित